‘भदौरे भेलले सकेन रोक्न, चेलीलाई माइतीको आँगन टेक्न...’ बोलको गीत तिजमा अति धेरै गुन्जिने गर्छ। विभिन्न अप्ठ्यारा परिस्थितिहरूका बाबजुद चेलीहरूलाई माइती आउन केहीकसैले रोक्न नसक्ने भाव यो गीतले व्यक्त गरेको छ तर पछिल्लो समय भदौरे भेलले रोक्न नसकेका चेलीहरूलाई वैदेशिक रोजगारीको भेलले भने रोकेको छ।
आर्थिक र परिवारको उज्ज्वल भविष्य खोज्दै बिदेसिएका धेरै नेपाली चेली हरेक चाडपर्व मनाउन देश फर्कन सक्दैनन् न माइतीघर पुग्न सक्छन्। यस्तै विवशताले घेरिएकी एक चेली हुन्, चितवन भरतपुर-९ की अस्मी सापकोटा। उनी आठ वर्षदेखि यता जापान बस्दै आएकी छन्। अस्मी तिजको बेलामा देश र माइती दुवै उत्तिकै सम्झनामा आउने गरेको बताउँछिन्। परदेशमा त कामको व्यस्तताले कुन दिन तीज पर्छ भनेर क्यालेन्डर नै हेर्नुपर्ने स्थिति आइसकेको उनले बताइन्। ‘नेपालमा त तिजमा बिदा हुन्छ, जताततै तिजकै गीत घन्किन्छ। अनि सजिलै थाहा हुन्छ कि तिज सुरु भएछ भनेर,’ उनले भनिन्।
विदेशमा रहँदा माइती जाने भन्ने कुरा सम्झनामै सीमित हुने उनले बताइन्। ‘परदेशको माहोल फरक हुन्छ। काम नगरी हुँदैन। साथीहरूसँग एक दिन तिज मनाउन पनि बिदा लिनुपर्छ। बिदा मिल्ने-नमिल्ने पनि थाहा हुन्न।’
बिदा नमिलेको अवस्थामा एकछिन मात्र तिज मनाऔं न त भन्दा पनि सम्भव नहुने उनले सुनाइन्। तर विगतको सम्झनाले तिजको बेलामा बढी नै सताउने गरेको उनको भनाइ छ। ‘माइती गएर तीज मनाएको, आमाको हातबाट पाकेका परिकार खाएको, घरआँगनमा साथीहरूसँग तीज गीत गाएको अनि नाचेको खुब सम्झना आउँछ,’ उनले भनिन्।
यो उनको मात्र व्यथा होइन, उनीजस्ता हजारौं नारीको साझा पीडा हो। अनेकौं कारणले विभिन्न देशमा रोजगारीका लागि पुगेका नारीहरूलाई तीजको सम्झनाले खुबै सताउने गरेको छ। परदेसिएका नारीहरू माइतीघर र देशको केवल सम्झना गर्न सक्छन्, पुग्न सक्दैनन्, समय पाउँदैनन् पनि। एकातिर देशमा तिजको उमंग छाउँदा अर्कातिर विदेशमा बस्ने नारीहरूको मन निराशाले भरिन्छ। महिलाहरूको महान् चाड भन्ने गरिए पनि परदेसिएका नारीहरू तिजको बेलामा झनै मन संकुचित पारेर बस्न विवश हुन्छन्।
महिला सशक्तीकरणका जति नै कुरा गरे पनि अन्ततः मानिस विभिन्न कठिनाइ, बाध्यता र परिस्थितिको घेराबन्दीमा नपरी नहुने अवस्था आउने रहेछ भन्ने स्वदेशमै हुँदा तिजमा रमेका र परदेशमा छटपटिएका नारीहरूको मनोदशाबाट खुलस्त हुन्छ। रोजगारीको सिलसिलामा खाडी मुलुक तथा युरोपका धेरै देशमा पुगेका नेपाली नारीहरू नेपालमा मनाइने चाडपर्वहरूको साँच्चै ‘मिस’ गर्छन्। विदेशी भूमिमा आफ्नो परम्परालाई पूर्ण रूपमा खुलेर मनाउन नपाएको दुःख उनीहरू भोग्छन्।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागी मात्रै ९४ हजार चार सय भन्दा बढी महिला विभिन्न देशमा पुगेको तथ्यांक छ।
उनीहरूले तिजको माहोललाई आफ्नो माइती र देशमा रहेर आत्मसात् गर्न पाएका छैनन्। देशको अर्थतन्त्र सुधार हुन नसक्दा, रोजगारीको अवसर नहुँदा र उद्यमशीलतालाई राज्यले प्राथमिकतामा राख्न नसक्दा परदेसिन बाध्य हुनेको संख्या दैनिक बढ्दो छ। पछिल्लो समय आर्थिक समस्याका कारण विदेश जानेहरूको संख्या बढ्न थालेसँगै पर्वको उत्साह पनि घटेको छ।
विदेशमा हुँदा बिदाको समय साथीहरूसँग मिलाउनुपर्ने र कामको चापका कारण नेपालमा जस्तो उत्साहपूर्ण नहुने परदेशमा हुनेहरू बताउँछन्। धादिङको सल्यानटार स्थायी घर भएकी अम्बिका दुवाडी पनि विदेश बसाइमा तिज मनाउन फुर्सद नहुने र नेपालमा रहँदाको वातावरण याद आउने बताउँछिन्। उनले उता नेपालको भन्दा फरक परिवेश र अनुकूलताका आधारमा मात्रै तिजमा रमाइलो गरेको बताइन्। ‘परिवार सँगै भए पनि नेपालमा बुढा आमा–बाको याद आउँछ,’ उनले भनिन्, ‘मध्यरातमा ब्युँझिएर आमाले पकाएको दर खाएको यादले सताउँछ।’
विष्णु माझीको ‘आइन आमा ओ...’ बोलको तिज गीतमा भनेजस्तै धेरै नेपाली नारीहरू वर्षौंदेखि बाध्यात्मक रूपमा नै विदेशमा रमाउन बाध्य छन्। उनीहरू किशोर उमेरमा पञ्चमी पूजा गरेको पँधेराहरू खुब सम्झन्छन्। बाल्यकालका साथीहरूसँग माइती आँगनमा भेटेर नाच्न बन्देजमा छन् उनीहरू। यसका धेरै कारणमध्ये एक हो, वैदेशिक रोजगारी।
रोजगारीका लागि कतार पुगेकी अर्की रमिता थापाले पनि तिजमा देशको चाडपर्वमय परिवेश सम्झँदै काममा लाग्नुपरेको पीडा व्यक्त गरिन्। नेपालमा हुँदा गरिने रमाइलो र कतारको परिवेश फरक भएका कारण आफू तिजमा रमाउन नसकेको उनले बताइन्। काम र पैसाको चक्करमा जीवनको रमाइलो परदेशमै सकिँदै गएको उनले सुनाइन्। तीजको रातोलाई पैसाको कालोले जित्दै गएको उनको बुझाइ छ। ‘भन्छन् नि पैसाको रङ कालो हुन्छ रे,’ उनले भावुक हुँदै भनिन्, ‘त्यही भएर होला रोजगारीमा आएका हामी तिजको रातो रङ भुल्दै छौं।’
प्रकाशित: १० भाद्र २०८२ ०६:२४ मंगलबार




