विजया दशमीको अवसरमा कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा निकालिएका दुर्गा भगवतीका मूर्तिहरू विसर्जन गरिएको छ। बाजागाजा, नाचगानसहित स्थानीय नदी–नालामा भक्तजनहरूले भव्य रूपमा मूर्ति विसर्जन गरेका हुन्।
जिल्लाका १० पालिकाभित्रका चोक, बजार र गाउँमा दसैँका अवसरमा प्रदर्शन गरिएका मूर्तिहरू नवरात्रका अवसरमा विशेष हवनपछि विसर्जन गरिएको हो। कतिपय ठाउँमा घटस्थापनादेखि नै, भने धेरै ठाउँमा सप्तमीका दिन पूजा–पाठ गरी मूर्ति स्थापना गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार कपिलवस्तुका १० पालिकामा जम्मा ४ सय ९६ वटा दुर्गा भगवतीका मूर्ति स्थापना भएका थिए। यी मूर्तिहरू १० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी लागतमा तयार गरिएका थिए। भक्तजनहरूले रामघाट, लक्ष्मणघाट, सुरई बेल नदीसहित बाणगंगा र विभिन्न खोलानालामा मूर्ति विसर्जन गरेका थिए।
दशमी र एकादशी गरी दुई दिनसम्म विसर्जन कार्य गरिएको हो। बिहीबार कृष्णनगर–महाराजगंज क्षेत्रका मूर्तिहरू विसर्जन गरिएका थिए। नवरात्रमा दुर्गा भगवतीको व्रत बस्दै पूजा–पाठ गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। मूर्ति विसर्जन स्थलहरूमा यस क्रममा मेला पनि लागेको थियो।
सम्भावित घटनालाई मध्यनजर गर्दै स्थान–स्थानमा प्रहरीले बाक्लो सुरक्षा व्यवस्था मिलाएको थियो। कृष्णनगरलाई अतिसंवेदनशील क्षेत्र मानिएकाले त्यहाँ ड्रोन, सिसिटिभी क्यामेरा र बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू पनि त्यहाँ उपस्थित थिए।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप वा घटना रोक्न शान्ति–सुरक्षालाई मजबुत पारिएको बताए। उनका अनुसार विसर्जनको क्रममा जिल्लाभर कुनै अप्रिय घटना घटेन।
तौलिहवा र वरपरका क्षेत्रमा निकालिएका झाँकीलाई भक्तजनहरूले नगर परिक्रमा गराएर रामघाटमा विसर्जन गरेका थिए। प्रशासनले असोज २१ गतेसम्म छिटपुट रूपमा विसर्जन जारी रहने जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले दसैँ अवधिमा जिल्लाभर शान्तिपूर्ण वातावरणमा विसर्जन सम्पन्न भएको बताए।
प्रकाशित: १७ आश्विन २०८२ २१:३५ शुक्रबार





