१० पुस २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

आस्थाकी देवी छिन्नमस्ता : इतिहास र वर्तमान

सखडेश्वरी भगवती मन्दिर । तस्विरः मिथिलेश यादव/नागरिक

पूर्वपश्चिम राजमार्गको रुपनीबाट १० किलोमिटर दक्षिणमा राजविराज बजार छ । राजविराजबाट १० किलोमिटर दक्षिणमा प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिर (सखडा भगवती मन्दिर) छ ।  

प्राचीन एवं भव्य सखडा भगवती मन्दिर अहिले छिन्नमस्ता गाउँपालिमा पर्छ । नेपाली शैलीमा निर्मित यस मन्दिरमा भित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका ५ वटा मूर्ति छन् । ती मूर्तिहरूलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भन्दछन् । छिन्नमस्ता भगवतीको शिर काटिएकोले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो ।  

ई.स. १३१० मा नेपालको मध्यपुर्वी तराई क्षेत्रको भूभाग समेत गाभिएको तिरहुत राज्यजसको राजधानीहालको बारा जिल्लाको सिमरौनगढमा पर्दथ्यो। त्यहाँका कर्नाटकवंशी राजा नान्यदेवका पाँचौ पुस्ताका राजा शक्रदेव सिंहले आफ्ना छोरा कुमार हरिसिंह देवलाई राजप्रतिनिधिबनाई आफू जीवनको शेष भाग बिताउन सप्तरी आई सखडा (हाल भगतवी मन्दिर) रहेको ठाउँमा आफ्नो कुलदेवीको रूपमा भगवतीको स्थापना गरी पूजा गरेर बसेका थिए । यिनै शक्रसिंह राजाको नाम अपभ्रंश भएर नै यस ठाउँको नाम सखडा भएको किवंदन्ती छ । यिनै राजाले आफ्ना कुलदेवीको रूपमा शक्रेश्वरीको स्थापना गरेका थिए । जसलाई हाल छिन्नमस्ता भगवतीको नामले पुकारिन्छ । यिनै राजाले यस देवीको स्थापना गरेर मन्दिर निर्माण गरेका थिए ।  

यस मन्दिरको पुनर्निर्माण भने भारतका तत्कालिन मन्त्री ललित नारायण मिश्रले गरेका थिए। अहिलेको मन्दिरको निर्माण पूर्वराजा वीरेन्द्र शाहले २०४४ सालमा नेपाली शैलीमा निर्माण गरेको इतिहास छ ।  

भवानीको शिर काटिएको सम्बन्धमा भने १३८५ सालमा गया सुध्दिनतुगलक र १४०६ सालमा सुल्तान समसुदीन मुसलमानहरूले नेपालमा आक्रमण गर्दा सिरौनगढमा विभिन्न देवदेवीका मन्दिरहरू तोडफोड गरे जस्तै सखडा गाउँको यस भगवतीको मूर्ति पनि तोडफोड भई यी भगवतीको मूर्तिलाई त्यही नजिकै रहेको पोखरीमा फयाकी दिएका थिए । पछि सोही भगवतीको शिर काटिएको अवस्थाको मूर्ति पोखरीमा नै फेलापारि स्थानीय भक्तजनहरूले शिर विहीन रूपमा नै सो मूर्ति यहाँ स्थापना गरी मन्दिर बनाएको भनाई स्थापित रहेको मधेस आमसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष एवं मैथिली साहित्कार श्यम सुन्दर यादव बताउँछन्। 

भगवतीको पाउको तल राँगो र त्यसको शिरको आकार देखिएको कारणबाटै यिनलाई मर्हिष मर्दिनी पनि भनिएको हो भने यिनको शिर काटिन गएको कारणले छिन्नमस्ता पनि भनिन्छ । साथै यी भगवती सखडा गाउँमा रहेको कारणले शखडेश्वरी या खण्डेश्वरी पनि भनिन्छ भनेर मन्दिरका पिठाधिश महाकान्त ठाकुर बताउँछन् ।  

पिठाधिस ठाकुरका अनुसार यस मन्दिरमा विजया दशमीमा विशेष गरी ठुलो मेला लाग्नुको साथै हजारौँ बोका, राँगा, परेवा, कुखुराहरूको बलिपनि दिइन्छ तर यहाँको अनौठो कुरा के छ भने यहाँ दिएका बलिको रगतमा झिँगा आदी बसेको भने हुँदैन । त्यसैले यी देवीलाई साक्षात् देवीमानी भक्तजनहरूले पूजाअर्चना गर्दछन्। पहिला यस मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा गरिन्थ्यो भने हालआएर हिन्दु परम्परागतकै पूजाअर्चना गर्ने चलन रहेको छ ।

पछिल्लो समय सप्तरीको छिन्नमस्ता भगवतीे मन्दिर पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा बिहानदेखि रातिसम्म भीड लागेको हुन्छ । नेपालीहरू मात्रै नभई भारतीयहरू पनि ठूलो संख्यामा यहाँ पूजा गर्न पुग्ने गर्छन् ।  

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख शक्तिपीठ मध्येको एक हो । अन्य बेलामा समेत भीड लाग्ने यस मन्दिरमा बडा दशैंको समयमा ठूलोउत्सव नै हुने गरेको मन्दिरका पिडाधिश ठाकुरले वताए । उनका अनुसार यस मन्दिरमा भाकल पूरा भएपछि खसी र बोका चढाउने परम्परा छ । 

प्यागोडा शैलीमा निर्मित यो यस मन्दिरमा आसीन भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माताभनेर पूजा–अर्चना तथा भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात् शीर नभएका कारण भक्तजनले यीभगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गरिने सहित्कार यादवले बताए ।

ऐतिहासिक पक्ष

तत्कालीन राजा शक्रसिंह आफ्ना भाइ–भारदारको दबाबका कारण छोरा कुमार हरिसिंह देवलाई राजकाज सुम्पेर बाँकी जीवन बिताउन सप्तरीको सखडा क्षेत्रमा गएका थिए । त्यतिबेला सो क्षेत्र घना जंगलले भरिएको थियो । राजा शक्रसिंहलाई भगवतीले सपनामा आएर भनिन्, ‘तिमी जुनस्थानमा बसिरहेका छौ, त्यहाँ त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरू मूर्ति पनि छेउछाउमा पाउनेछौ । ती मूूर्तिहरूको पूजाआजा गरेर बस, तिम्रो भलो हुनेछ ।’ 

राजा शक्रसिंहले देवीभगवतीले सपनामा दिएको निर्देशनअनुसार त्रिशूल गाडिएको क्षेत्रमा माताको मूर्ति, जलाशय अर्थात् हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीका महन्थ ठाकुरले वताए । 

बलि प्रदान गर्दा निस्केको रगतमा झिँगा नबस्ने, रगत लुगामा लागे पनि दाग नलाग्ने, पोखरीको पानीमा रगत मिसिँदा रातो नहुने, बलि प्रदान गर्ने नाममा राखिएका बोकालाई केही नहुने, बलिका लागि बोको किन्नु अघि कुकुर वा स्यालले टोकेको छ भने मन्दिर पुग्दानपुग्दै बाटोमै मर्ने यस मन्दिरका विशेषाता भएको पुजारीहरु बताउँछन् ।उनका अनुसार बलिप्रदान गरेको खसीबाट निस्केको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुने, जुठो वा अपवित्र पूजा सामग्री चढाउन नहुनेजस्ता जनविश्वास र आस्था छ ।  

एघारौं शताब्दीको अन्त्यतिर भारतको कोलकात्ताका शासक गयासुद्दिन तुगलकको मुसलमानी समूहले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ पनि ध्वस्त ग¥यो । मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू तोडफोड गरी जलाशयमा फ्याँकि दिए । मन्दिरको मूर्ति तोडफोड गरेर अगाडि बढ्ने क्रममा सखडादेखि १५ किमि पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरूसमेत तोडफोड ग¥यो ।  

सोही आक्रमणपछि सखडा क्षेत्र पुनःजंगलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपट्टि घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागबाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पंचमुखी नाग देवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरू बताउँछन् ।

मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करिब १ सय २५ वर्षअघि सखडाको भगवती मन्दिर भग्नाशेष अवस्थामा थियो । जसलाई स्थानीय बासिन्दा च्याखुरी नानीर चुनीलाल ठाकुरले सफा गरी भिक्षाटनबाट संकलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा फेरि भत्किन पुग्यो । र, त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा संकलन गरी ग्रामीण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए ।  

२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालीनभारतीय रेलमन्त्रीललितनारायण मिश्रको सहयोगमापक्कीमन्दिर भवनका साथै तीनकोठे धर्मशाला पनि बनाइयो । त्यसपछि वि.सं.२०४४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले भगवतीको दर्शनार्थ जाँदा ५ लाख रुपैयाँ चन्दा दिए । सो रकमबाट तत्कालीन सगरमाथा अञ्चलका अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका हुन् ।

मन्दिर भित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्तमूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुंगामा कुँदिएको छ । मूलमूर्तिको देब्रेपट्टि दक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ ।  

पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ । पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ ।

वि.स. १९८४ सालमा सप्तरी जिल्लाको तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए । उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुई पटक लेखिएको छ । यसबाट स्पष्ट हुन्छ किशुक्रसिंहले आफ्ना इष्टदेवी भगवती स्थापना गरेका थिए । 

सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको साहित्यकार यादव बताउँछन् । 

प्रकाशित: २२ असार २०८२ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App