१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

अब म थोरै बोल्छु, काम गर्ने दिन आइसक्यो: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी भिड जम्मा गर्न नभई इतिहास लेख्न राजनीतिमा आएको बताएका छन्।

बुधबार महोत्तरीको बर्दिबासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अब भाषण गर्ने दिन सकिएर काम गर्ने दिन आएको बताए।

सभापति लामिछानेले भने, ‘हामी जम्मा भएको भिड होइनौं, हामी इतिहास लेख्न भेला भएका हौं। र, इतिहास लेख्नेछौं। म अब धेरै बोल्दिनँ, थोरै बोल्छु। किनभने अब बोल्ने होइन, गर्ने दिन आउँदैछन्। के तपाईंहरू जनताको सरकारका लागि तयार हुनुहुन्छ ?’

लामिछानेले महोत्तरी क्षेत्र नं-१ का उम्मेदवार प्रमोद कुमार महतोलाई जिताएर पठाउन आग्रह गरे। उनले महतोको साथमा संसद्‌मा इतिहास लेख्ने उद्घोषसमेत गरे।

प्रतिद्वन्द्वी दलहरूप्रति लक्षित गर्दै लामिछानेले आधा भ्रष्टाचार राख्ने कि पूरै हटाउने भन्ने फैसला जनताको हातमा रहेको बताए। उनले रास्वपा सरकारमा पुगेपछि भ्रष्टाचारविरुद्ध निर्मम हुने प्रतिबद्धता दोहोर्याए।

‘रास्वपाले आफ्नो सरकार बनाएपछि सबैभन्दा बढी निर्मम भ्रष्टाचारको विषयमा हुन्छ। देशको भ्रष्टाचारको जरो उखेल्नका लागि हामी खडा भएका हौं,’ उनले भने।

साथै, उनले देशमा व्याप्त बेरोजगारी समस्या र अलपत्र परेका विकास निर्माणका कामहरूलाई गति दिन आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत बताए।

प्रकाशित: १३ फाल्गुन २०८२ १७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App