२९ असार २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

हरिशयनी एकादशी : तुलसी रोपण र विशेष पूजाको प्रारम्भ

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीको दिन घरघरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आजदेखि सुरु गरिंदै छ।  

एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीको दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा रोपिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीको दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ।  

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्छन्, त्यसैले यो दिनलाई हरिशयनी एकादशी भनिन्छ, धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। भगवान विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ।  

एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुने र चार महिनासम्म फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीको दिन फलाहार गरी व्रत बस्छन्।  

हरिशयनी एकादशीको अवसरमा आज बिहानदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। एकादशीको दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने, रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ।  

वैज्ञानिक रूपमा पनि बढी अक्सिजन दिने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएको स्थानमा रोग सार्ने विषालु कीटाणु नआउने विश्वास गरिन्छ। वास्तु दोष भएको स्थानमा तुलसीको मोठ राख्दा सकारात्मक फल प्राप्त हुने मान्यता छ। तुलसी भएको स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।  

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन दामोदरसँग विवाह गराइन्छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन पनि गरिन्छ।

प्रकाशित: २२ असार २०८२ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App