२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको ‘सामाजिक लोकतन्त्र’ साझा विवेकशीलकै राजनीतिक सिद्धान्त हो : रविन्द्र मिश्र

रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  सामाजिक लोकतन्त्रको अवधारणा विगतमा साझा विवेकशीलले मुख्य राजनीतिक सिद्धान्तका रूपमा उठाएको दाबी गरेका छन्।   

सामाजिक सञ्जालमा लेख्दै उनले सामाजिक लोकतन्त्रको अवधारणा  आफूले लामो समयदेखि वकालत गर्दै आएको सिद्धान्तलाई अंगीकार गरेको भन्दै यसलाई सकारात्मक कदमका रूपमा लिएको  बताएका छन्।   

साथै मिश्रले रास्वपाले प्रदेशसभा खारेजीको एजेण्डा अघि सारेकोमा स्थानीय तहको संख्या घटाउने, स्थानीय तहको गैरदलीय निर्वाचन गराउने तथा विद्यार्थी र सरकारी वेतनधारी कर्मचारीका दलीय भातृ संगठन विघटन गर्ने विषय पनि विगतमा साझा विवेकशील साझाका प्रमुख एजेण्डा रहेको बताएका छन्।   

‘सबै कुरा उल्लेख गर्दा आफू हारेर अरूले गरेको कामको श्रेय लिन खोज्यो भन्नेहरू पनि होलान्,’ उनले लेखेका छन्, ‘तर आफूले गर्न नसकेको काम अरूले गर्दा खुसी हुन त पाइयो नि।’  

मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाज मा ‘कल्याणकारी लोकतन्त्र’ को अवधारणाबारे चर्चा गरेको र विचारभन्दा माथि देश पुस्तकमा सामाजिक लोकतन्त्रलाई छुट्टै खण्ड नै समर्पित गरेको बताएका छन्।  

यद्यपि उनले रास्वपाले सामाजिक लोकतन्त्रलाई राजनीतिक सिद्धान्तका रूपमा स्वीकार गरे पनि  संघीय बजेटमा त्यसको प्रभाव नदेखिएको भन्दै सामाजिक लोकतन्त्रलाई मूल सिद्धान्त मान्ने दलको बजेट फरक प्रकृतिको हुनुपर्ने उनको तर्क छ।  

‘देशको सबैभन्दा ठूलो पार्टीले आफूले वर्षौँदेखि वकालत गर्दै आएको सिद्धान्तलाई अंगीकार गर्नु खुसीको विषय हो,’ उनले भनेका छन्, ‘तर रास्वपाले प्रस्तुत गरेको बजेटमा सामाजिक लोकतन्त्रको खासै सुवास आउँदैन।’ 

प्रकाशित: १० असार २०८३ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App