नेवाः समुदायको परम्परागत सिप, प्रविधि र ज्ञानलाई संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेवाः ज्ञान सम्मेलन हुने भएको छ। नेपाल भाषा एकेडेमीको आयोजनामा यही वैशाख २७ गते शनिबार राष्ट्रिय सभागृहमा उक्त ज्ञान सम्मेलन हुनेछ। सम्मेलनबारे जानकारी दिँदै एकेडेमीका कुलपति मल्ल के सुन्दरले नेवाः समुदाय जात्रा, पर्व, संस्कृतिमा मात्र धनी होइन, परम्परागत शिल्प, प्रविधिमा पनि धेरै उन्नत रहेको तर ती ज्ञान बिस्तारै हराउँदै गएकाले यसको संवद्र्धन र प्रवद्र्धन गर्न राष्ट्रिय स्तरमा ज्ञान सम्मेलन गर्न लागेको बताए।
‘काठमाडौं उपत्यकाको परम्परागत बस्ती हेर्नुस्, ती बस्ती अहिलेको टाउन प्लानिङभन्दा धेरै उन्नत छन्। यहाँका मठमन्दिर, पानी वितरण प्रणाली, बहाःबही, पुराना घर हेर्नुस्। आधुनिक प्रविधि नभए पनि सयौं वर्ष अगाडि नै पूर्ण विकसित तरिकाले बनाएका छन्,’ उनले भने, ‘त्यस्तै यहाँको कृषि प्रणाली धेरै उन्नति थिए, जसले गर्दा प्राचीन समयबाट धेरै कृषि उत्पादन निर्यात हुन्थ्यो। त्यतिबेलाको काष्ठकला अहिले पनि आकर्षक छन्।’
नेवाः समुदायको परम्परागत प्रणाली र अहिलको आधुनिक प्रविधिलाई समन्वय गरी कसरी लान सकिन्छ भन्ने विषयमा सम्मेलन छलफल हुने उनले बताए।
सम्मेलनमा नेवाः काष्ठकला र शिल्प, नेवाः कृषि प्रणाली र नेवाः बस्ती र नगर निर्माण योजनाबारे कार्यपत्र प्रस्तुत गरिने बताइएको छ। काष्ठकलासम्बन्धी सिर्जना प्रजापति, कृषि प्रणाली विषयमा बुद्धिरत्न डंगोल र बस्ती तथा नगर निर्माण योजना सम्बन्धमा पद्मसुन्दर जोशीले कार्यपत्र प्रस्तुत गर्ने कुलपति मल्लले बताए।
प्रकाशित: २१ वैशाख २०८२ १०:३२ आइतबार




-600x400.jpg)
