ऐतिहासिक पात्र र घटनाको विषयलाई लिएर साहित्यकारहरूबाट अनेकौं कविता, काव्य, कथा, उपन्यास, नाटक आदि सिर्जना भइरहेको देख्न पाइन्छ। यसरी ऐतिहासिक पात्र र घटना राख्दैमा ती साहित्य सबैलाई इतिहासका स्रोत भन्न मिल्दैन। मतलब साहित्यकारहरूले आफूले रचना गरेको साहित्यलाई रोचक बनाउन अत्यधिक मात्रामा काल्पनिकताको सहारा लिइएको हुन्छ। यसो भन्दै गर्दा त्यसरी साहित्य सिर्जना गर्नुहुँदैन भन्न खोजेको भने होइन। किनभने साहित्य विधाका फाँट र इतिहास विधाका फाँट अलगअलग छन्।
साहित्यलाई काल्पनिकता अपरिहार्य छ भने इतिहासलाई काल्पनिकता बर्जित छ। त्यसरी काल्पनिक आवरण दिइएको विवरण र वर्णन जेजति जहाँ जहाँ छन् ती ऐतिहासिक कसीमा स्वीकार्य मानिँदैन। त्यसरी कल्पनाको धरातलमा बसेर लेखिएका कुरा प्रमाण मान्नु नाजायज मात्र होइन, अपराध नै हो। किनकि यसले सत्यतथ्य इतिहासलाई बङ्ग्याएर भ्रामक र दूषित बनाइदिन्छन्। तथापि कतिपय ठाउँमा तथ्य र प्रमाणलाई वास्ता नगरी केवल कथालाई मात्र बढी जोड दिई आएका उदाहरण छ्यापछ्याप्ती देखिरहेकै हो।
जुन बेला तथ्य प्रमाणहरू केही भेटिएको थिएन, त्यो अवस्थामा तत्कालीन लेखकहरूले कथालाई पनि आधार मानेर लेखिदिए। यसो हो भन्दैमा त्यसको अनुशरण अहिले पनि गर्दै जानुपर्छ भन्नु बुद्धिमानी हो भन्न सकिँदैन। किनभने अहिले तथ्य प्रमाणहरू प्रशस्त मात्रामा भेटिसकेका छन्। ती तथ्यमा आधारित अभिलेख प्रमाणलाई टेकेर हेर्न छोडी कथालाई समातिरहेका उदाहरणमध्ये पाटनको बुंगमलोकेश्वरको जात्राको प्रसङ्ग पनि एक हो, त्यही भएर यो कुरा औंल्याएर यो लेख तयार गरिएको हो।
तथ्यगत प्रमाण
संसारभरमा लामो अवधिसम्म चल्ने रथजात्रामा अद्वितीय मानिएको रथजात्रा बुंगमलोकेश्वरको रथजात्रा नै ठहरिन्छ। केही कालअघिदेखि यो जात्रालाई रातो मत्स्येन्द्रनाथ अर्थात् रातो मछिन्द्रनाथको जात्रा भनेर प्रसिद्ध हुँदै आएको छ। रातो वर्ण भएको मछिन्द्रनाथ भएर रातो मछिन्द्रनाथ भनिएको हो। सुरुसुरुमा यसलाई आर्यावलोकितेश्वर, अवलोकितेश्वर, लोकेश्वर, लोकनाथ, करुणामय र बुंगमतीमा विराजमान भइरहेको लोकेश्वर भएकाले बुंगमलोकेश्वर भनेर पनि प्रसिद्ध रही आएको हो। कालान्तरमा आएर यो लोकेश्वरलाई मछिन्द्रनाथ भन्न थालियो र रातो वर्ण भएकाले रातो मछिन्द्रनाथसमेत भन्न थालिएको हो। जति आर्यावलोकितेश्वरको नाममा गौरव, प्राचीनता, मौलिकता र ऐतिहासिकता अन्तर्निहित छ, त्यति रातो मछिन्द्रनाथको नाममा देखिँदैन भन्ने तथ्य पनि सर्वविदित नै रहेको छ।
छैटौं शताब्दीको मध्यतिरको काठमाडौं धरोहराबाट लगन जाने बाटोको आर्यावलोकितेश्वर मूर्तिको पादपीठमा यो अभिलेख पाइन्छ।
सव्र्वसत्वहित सुखात्र्थाय भगवत आर्यावलोकितेश्वरनाथ प्रतिष्ठापितः
(लिच्छविकालका अभिलेख, पृष्ठ १७७)
यस अभिलेखमा संवत् र राजाको नाम अस्पष्ट भइसकेका छन् तापनि यो राजा रामदेवको पाला (इ.सं. ५४३) हो। यसमा सारा प्राणीको हित र सुखका लागि भगवान् आर्यावलोकितेश्वरनाथको स्थापना गरेको व्यहोरा छ। यसमा दाता मणिगुप्तले आफ्नी पत्नी महेन्द्रमतिसँगै भएर दानधर्म गरेको कुरा छ। यही आर्यावलोकितेश्वरनाथलाई कालान्तरमा आएर रातो मछिन्द्रनाथ भन्न थालिएको हो।

संवत् ४७९ (इ.सं. ५५६) को काठमाडौं ब्रह्मटोलको अवलोकितेश्वरको पादपीठ अभिलेख पाइन्छ। अभिलेखको अंश यसप्रकार छ:
संवत् ४७९ द्वितीय आषाढ... यजीव... भगवदार्या
(लिच्छविकालका अभिलेख, पृष्ठ १८५)
यस अभिलेखमा ‘राजा गणदेवको पालामा संवत् ४७९ द्वितीय आषाढ ... प्रियजीवले भगवान् आर्यावलोकितेश्वर ... स्थापना गरे’ भन्ने व्यहोरा परेको छ। यसमा व्यहोराले आर्यावलोकितेश्वरको पादपीठ अभिलेख भनेर बुझाउँछ भने हाल लोकेश्वरको मूर्ति हराइसकेको हुनाले नारायणको मूर्ति राखिएको पाइन्छ। जेहोस्, यसले आर्यावलोकितेश्वरको मूर्ति र पूजाको परम्परा उहिलेदेखि नै विद्यमान रहेको प्रमाणित गर्छ।
संवत् २९ (इ.सं. ६०६) को बुंगमतीको अंशुवर्माको अभिलेखमा शिरोभागमा दुईतिर मृग र बिचमा धर्मचक्र अंकित भएकाले बुंगमती बौद्ध क्षेत्र मात्र होइन, यहाँ अवलोकितेश्वर विराजमान रहेको क्षेत्र भन्ने स्पष्ट हुन्छ। यसमा बुगायुमी (बुंगमती) ग्रामका मुखियालगायत गृहस्थीहरूलाई कुशल मंगल सोधेर सनद जारी गरेको विषय छ। यो ठाउँमा बुंगमलोकेश्वर विराजमान भएको विकसित एवं घना बस्ती भइसकेको भएर नै व्यवस्था गर्न सनद जारी गर्नुपरेको कुरा स्वतः सिद्ध छ।
संवत् ३१ (इ.सं. ६०८) वैशाखको पाटन चक्रवहिलको आर्यावलोकितेश्वरको पादपीठ अभिलेख पाइएको छ। यस अभिलेखको अंश यसप्रकार छ
‘भगवतार्यावलोकितेश्वर मुद्दिश्य दशमानिका पूजां कर्तव्या ...’
यसमा भगवान् आर्यावलोकितेश्वर पूजा आदि कार्य गर्ने उद्देश्यले दश मानिका छुट्याएको ब्यहोरा परेको छ। यसमा ब्यहोराले आर्यावलोकितेश्वरको पादपीठ अभिलेख भनेर बुझाउँछ भने हाल लोकेश्वरको मूर्ति हराइसकेको हुनाले हःखा गल्लीमा स्थापना भएको गणेशको मूर्तिको पादपीठका रूपमा प्रयोग भइरहेको छ। जेहोस् यसबाट पनि आर्यावलोकितेश्वरको मूर्ति र पूजाको परम्परा उहिलेदेखि नै विद्यमान रहेको प्रमाणित हुन्छ।
काठमाडौं ढोकाटोल चसाँदोको वण्डाहिटीको अभिलेखमा पनि आर्यावलोकितेश्वरको उल्लेख पाइएको छ:
‘सव्र्वसत्वो बुद्धो भवेत् क्षेत्रञ्च भूमि १० भगवतोस्यावलोकितेश्वरस्य...’
(लिच्छविकालका अभिलेख, पृष्ठ ३८६)
यस अभिलेखमा संवत् र राजाको नाम अस्पष्ट छन् तापनि यसमा अंकित लिपि अंशुवर्माको पालाको छ। यसमा सारा प्राणीले बुद्धत्व प्राप्त गरून् भनी १० भूमिखेत यी भगवान् अवलोकितेश्वरका लागि धूप बाल्न भनी गुठी राखेको ब्यहोरा उल्लेख छ।
पशुपतिको जयदेव द्वितीयको संवत् १५७ (इ.सं. ७३३) को अभिलेखमा पनि लोकेश्वर करुणाकरको उल्लेख यसरी भएको छ:
‘पदमं किं करणाकरस्य करतो लोकेश्वरस्यागतं...’
(लिच्छविकालका अभिलेख, पृष्ठ ५५१)
करुणामय लोकेश्वरको हातबाट आएको कमल पो यो हो कि ? भन्ने ब्यहोरा परेको छ। यसबाट पनि लिच्छविकालमा लोकेश्वर करुणामयको महिमा व्यापक रूपले चर्चा परिचर्चा हुने गथ्र्यो भन्ने प्रस्ट हुन्छ।
पाटन यंगवहालमा अवलोकितेश्वरको मूर्ति र त्यसको पादपीठमा संवत् १८० (इ.सं. ७५७) को अभिलेख यसप्रकार छ:
‘एतङ्ग्रामे लहुग्वले प्रतिवसं हूं धर्मजीवः स्वयम् प्राकार्षी दवलोकितेशमम लम्पाषाणम त्यद्भूतम् एतङ् ग्राम। लहुग्वलमा बस्ने धर्मजीव कुबाटोमा हिँडेका, चित्त भएका प्राणीहरूलाई गम्भीर संसारको दुःखबाट सधैं छुट्कारा दिलाउन सफा अति अद्भूत ढुंगाको अवलोकितेश्वर आफैं बनाए।’
(लिच्छविकालका अभिलेख, पृष्ठ ५९१)
यसरी प्राप्त भएका लिच्छविकालका अभिलेखहरूमा करुणामय लोकेश्वरको स्थापना एवं पूजा अर्चना गुठी आदिको व्यवस्था त्यही बेला भइसकेको तथ्य व्यापक रूपले प्रचारित थिए भन्ने प्रमाणित हुन्छ।
गोपालराज वंशावलीमा ‘श्री नरेन्द्रदेव वर्ष ३५ तस्य आचार्य बन्दुदत्त द्वयेन, श्री बुग्मलोकेश्वर भट्टारकस्य जात्रा कृता भवति’ उल्लेख छ। यसमा नरेन्द्रदेव वर्ष ३५ र आचार्य बन्धुदत्त दुई जनाले बुंगमलोकेश्वरको जात्रा चलाए भनिएको छ। यसबाट ३५/३६ वर्ष शासन गर्ने नरेन्द्रदेव कुन चाहिँ हो, उनैलाई ईंगित गरेको छ र नेपालमण्डलमा बुंगमलोकेश्वर धेरै अघिदेखि थियो। यिनले केवल जात्रा मात्र चलाएको थियो भन्ने स्पष्ट बोलेको छ। त्यसैले नरेन्द्रदेव नाम गरेको राजा चारपाँच जना जतिसुकै होऊन्, ३५÷३६ वर्ष शासन गर्ने केवल प्रथम नरेन्द्रदेव मात्र देखिन्छ, अरू छैन। आचार्य बन्धुदत्त पनि प्रथम नरेन्द्रदेवको समकालीन व्यक्ति थियो भनेर स्पष्ट बोध हुन्छ।
प्रथम नरेन्द्रदेवको समय इ.सं. ६४३ देखि इ.सं. ६७९ पर्छ। यदि कसैले नरेन्द्रदेवको समय कलिगत ३६७६ भन्छ भने त्यो गलत भनेर बुझ्नुपर्ने हुन्छ। किनकि कलिगत ३६७६ भनेको इ.सं. ५७५ हुन आउँछ। यसप्रकार प्रथम नरेन्द्रदेवभन्दा पनि सय वर्षअगाडि अर्को नरेन्द्रदेव नामको राजा नेपालमण्डलमा थियो भन्ने संकेतसम्म पनि कुनै इतिहासमा पाइँदैन। त्यसैले कथामा कलिगत ३६७६ भनेर जुन लेखियो, त्यो मनगढन्ते रूपले कल्पना गरेको सालमिति अंक मात्र हो भनेर बुझ्न सकिन्छ। किनभने इ.सं. ५७५ भन्दा पनि धेरै अगाडि नै आर्यावलोकितेश्वरको प्रख्याति नेपालमण्डलमा भइसकेको थियो भन्ने कुरामाथि उल्लेख भएको अभिलेख प्रमाणहरूले पनि स्पष्ट पारिसकेको कुरा हो।
कथामा आधारित कुरा
बुंगमलोकेश्वर (बुंगद्योया बाखं) अर्थात् श्री मत्छेन्द्रनाथ महात्मे रचनालाई आधार बनाउनेहरूले मछिन्द्रनाथ भारतको कामारुकामाक्षा पीठबाट ल्याएको कथालाई विश्वास जनाउँदै आएको छ। यस कथामा बुंगद्योलाई कलशमा थुनेर कामारुकामाक्षाबाट नेपालमण्डलसम्म ल्याइपुर्याउँदा राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य र रथचक्र ललितज्यापू एवं कर्कोटक नागसमेत संलग्न रहेको रोचक आख्यान रचना गरी कथा बनाइएको छ। यो कथा कथाकै घेरामा सीमित रहन्छ, इतिहासको दायराभित्र सोझै प्रवेश गर्न र गराउन मिल्दैन।
यसप्रकारको कथा सुन्नेलाई सुनको माला र भन्नेलाई फूलको माला भन्नेमै टुंगिने गर्छ। किनभने यो कथा इतिहास होइन। यदि इतिहास हुँदो हो त इतिहासमा नरेन्द्रदेव नाम गरेको राजा नै चारजना छन्। तीमध्ये यस कथाको पात्र नरेन्द्रदेव कुनचाहिँ नरेन्द्रदेव भनेर स्पष्ट गरेर त्यो कथाले बोल्न सकेको छैन। अर्को पात्र भनेको बन्धुदत्त आचार्य रहेको छ। उनी पनि कुन ठाउँको व्यक्ति हो? उनी कर्माचार्य आचार्य हो वा वज्राचार्य आचार्य हो? यदि इतिहास भइदिएको भए त्यो कुरा स्पष्ट बोल्न सक्नुपर्ने तर बोल्न सकेकोे छैन।
हामीले डायमन शमशेरको ‘सेतो बाघ’ उपन्यास, ‘वसन्ती’ उपन्यास पढेका छौं। यसमा पनि ऐतिहासिक पात्र र ऐतिहासिक घटनाको वर्णन दिइएको भए पनि ती उपन्यास जसरी इतिहास होइन भन्छौं, त्यसरी नै मछिन्द्रनाथको कथामा इतिहास मान्य हुने गुणहरू छैनन् भन्न सकिन्छ।

कालान्तरमा आएर बन्धुदत्त आचार्यलाई कर्माचार्य आचार्य नै हुनुपर्छ भन्नेहरूले देउपाटन ग्वलका कर्माचार्य भनेर देखाइरहेको हुनु, वज्राचार्य आचार्य नै हुनुपर्छ भन्नेहरूले टेवहालको वज्राचार्य भन्नु भनेको स्वस्थानी कथा पढ्नेहरूले दक्षप्रजापतिको दरबार टोखामा नवराजको दरबार साँखुमा देखाइरहेजस्तै मात्र हो त्यो भन्दाभिन्दै केही पनि होइन। पछि कालान्तरमा आएर मान्छेहरूले यस्तो अड्कल कल्पना गरिएका मात्र हुन्, त्यो कुरा पुष्टि हुने अरू स्रोत नभेटिएसम्म प्रामाणिक भन्न मिल्दैन।
यो कथामा ऐतिहासिकता खोज्न समय काल खण्ड स्पष्ट पार्न सकेको हुनुपथ्र्यो, त्यो पनि स्पष्ट पार्नसकेको छैन। कतिपय लेखकहरूले कथाको सन्दर्भमा टेकेर लेख्दा कलिगत ३६०० मा आर्यावलोकितेश्वर लोकेश्वर बुंगद्य नेपाल ल्याइएको हो भनेर लेखे त कतिले कलिगत ३६७६ मा ल्याइएको भनेर लेखे। यसरी कलिगत चाहे ३६०० भने पनि ३६७६ भने पनि त्यसबेलाका राजा नरेन्द्रदेव नामको व्यक्तिको कुनै अस्तित्व सिद्ध हुने अवस्था छैन।
देवमाला वंशावलीमा गोरखनाथले नवनाग आसन गरेकाले अनावृष्टि भएको, बन्धुदत्त आचार्यको सल्लाहअनुसार योगी भेष गरी राजा नरेन्द्रदेव बन्धुदत्तसहित कामारुकामाक्ष गई मत्सेन्द्रनाथ लिन गएको घटना कलिगत ३६७६ मा घटेको घटना भनी दिइएको छ।
भाषा वंशावलीमा पनि माथि चर्चा गरेबमोजिमकैे गोरखनाथ र मत्सेन्द्रनाथको कथा दिइएको छ। अलिकति फरक भनेको बन्धुदत्तलाई शिवमार्ग बौद्धमार्ग दुवै मार्गका ज्ञाता एक बौद्धाचार्य थिए भनिएको छ। यसमा पनि कलिगत ३६७६ मा घटेको घटना भनी दिइएको छ। बन्धुदत्त आचार्यले रचना गरेको मत्सेन्द्रनाथको स्तुतिलाई करुणास्तव र राजा नरेन्द्रदेवले रचना गरेको स्तुतिलाई रूपस्तम्व भन्छ भनेर पनि उल्लेख गरिएको छ।
मनवज्र बज्राचार्यको हाम्रा चाडपर्वहरूका विवेचना नाम पुस्तकमा यसमा आर्यावलोकितेश्वर र मत्स्येन्द्रनाथ एकै व्यक्ति या ईश्वर होइनन्। लोकेश्वरको मूर्ति पूजा गर्ने परम्परा प्राचीन लिच्छविकालदेखि नै चलेको तथ्य पाइन्छ। ललितपुरको रातो मत्स्येन्द्रनाथको नाउले प्रसिद्ध भएको लोकेश्वर पनि लिच्छविकालिक मूर्ति नै हुन् भनी जोड दिएको छ।
कुलचन्द्र कोइरालाको श्री मत्स्येन्द्रनाथ नामक पुस्तक यसमा मत्स्येन्द्रनाथ नेपाल ल्याएको कथालाई केही परिवर्तन गरेको पाइन्छ। हुन त यसमा श्री मत्स्येन्द्रनाथलाई कामरूपबाट आह्वान गरी ल्याउने राजा नरेन्द्रदेव र तान्त्रिक बन्धुदत्त आचार्य नै हुन् भन्ने कुरामा कुनै विवाद छैन पनि भनिएको छ। मत्स्येन्द्रनाथ शंकराचार्यभन्दा पछि भएको हुनाले नरेन्द्रदेव भन्ने राजा लिच्छविकालका होइनन् भन्ने भनाइलाई उनले जोड दिएर लेख्नुभएको छ।
सत्यमोहन जोशीको नेपालका जात्रापर्व नामक पुस्तकमा राजा नरेन्द्रदेवको पालामा अनावृष्टि भएको थियो। त्यसबेला राजा नरेन्द्रदेव, तन्त्रविद् बन्धुदत्त आचार्य र रथचक्र भरियासहित कामाक्षपीठमा गई मछिन्द्रनाथ ल्याएको र मछिन्द्रनाथको रथजात्रा पनि नरेन्द्रदेवले चलाएको थियो। भोटोजात्रा चाहिँ राजा गुणकामदेवको पालामा कलिगत ३८२५ देखि चलेको भनी जोड दिएका छन्।
ज्योतिरत्न शाक्यको बुंगद्योया बाखं नामक नेपाल भाषाको पुस्तकमा यो पुस्तक आर्यावलोकितेश्वरको अवदान पुस्तकको एक अंश हो। यसमा पनि कलिगत ३६७६ मा अनावृष्टि भएको उल्लेखका साथै मछिन्द्रनाथ ल्याएको कथा देवमाला वंशावलीमा भएकै कथालाई दोहोर्याइएको कुरा यस पुस्तकमा छ। यो विशुद्ध कथा छ। यथार्थ इतिहाससँग मेल खाने खालको छैन। किनभने यसमा व्याख्या गर्दा बन्धुदत्त आचार्य भन्ने व्यक्ति शान्तिकर वज्राचार्यको शिष्य हो।
शान्तिकर वज्राचार्य गुणकामदेवको पालाको व्यक्ति भएकाले बन्धुदत्त नरेन्द्रमल्लको पालाको व्यक्ति भनी वर्णन गरिएको हुनु अपत्यारिलो सिद्ध छ। अर्को कथन भक्तपुरमा नरेन्ददेव ललितपुरमा वरदेव राजा थिए। मछिन्द्रनाथ कहाँ राख्ने भनी हानथाप हुँदा वरदेवको फैसलाले ललितपुरमा रहने भएको जस्ता इतिहाससँग मेल नखाने कुरा वर्णन गरिएको छ।
हरिराम जोशीको नेपालका चाडपर्व नामक पुस्तक यसमा राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मत्स्येन्द्रयात्रा चलाए। राजा नरेन्द्रदेवको समय १० औं शताब्दीको अन्तिम अथवा ११ औं शताब्दीको प्रारम्भिक समय हुनुपर्छ भनी जोड दिएको छ।
बद्रीरत्न वज्राचार्यको प्रसिद्ध वज्राचार्य पिनिगु संक्षिप्त विवरण नामक नेपाल लिपि र नेपाल भाषामा लेखिएको पुस्तिकामा राजा गुणकामदेवको पालामा अनावृष्टि भएर हाहाकार भएकाले शान्तिकर वज्राचार्यले नवनाग साधना गरी नवनागको रगतले मण्डल बनाई पूजा गर्दा वृष्टि भयो भनिएको छ।
राजा नरेन्द्रदेवको पालामा पनि १२ वर्षसम्म अनावृष्टि भएकाले शान्तिकर वज्राचार्यको शिष्य आचार्य बन्धुदत्त वज्राचार्य राजा नरेन्द्रदेव र रथचक्रसमेत गई कामारुकामाक्षबाट मत्स्येन्द्रनाथ ल्याएको वर्णन लेखिएको छ। यसमा बन्धुदत्तका गुरु शान्तिकर वज्राचार्य हुन् पनि भन्ने यिनी राजा गुणकामदेव समकालीन भनेको छ भने शान्तिकर वज्राचार्यका शिष्य बन्धुदत्त आचार्य वज्राचार्य हो। यिनी लिच्छविकालको नरेन्द्रदेवको समकालीन भनेर पनि जोड दिइयो। सो इतिहाससँग कतै तालमेल नभएको सिद्ध हुन्छ।
भुवनलाल प्रधानको मच्छेन्द्रनाथसम्बन्धी कथ्य र तथ्य शीर्षकको मधुपर्कमा प्रकाशित लेखमा भमरा रूपी मत्स्येन्द्रनाथलाई कलशमा हाल्दा राजा नरेन्द्रदेवलाई बन्धुदत्त आचार्यले खुट्टाले घचेटेको कुरासम्म उल्लेख गरेको छ। इतिहासमा नरेन्द्रदेव नामको राजा पाँच जना थिए, त्यसमध्ये दोस्रो नरेन्द्रदेवको पालामा मच्छेन्द्रनाथ ल्याएको सम्भावना छ भनेर जोड दिएको छ।
निष्कर्ष
करुणामय बुंगमलोकेश्वरको महिमा लेख्न, सुन्न हरेकको चाहना हुन्छ। त्यही भएर करुणामयको महिमा गाथाको लेख पुस्तक ग्रन्थहरू हरेकको घरघरमा जसो सङ्ग्रहित रहेका हुन्छन्। त्यसकारण लेखक र लेखको गन्ति गनेर साध्य छैन। तर जोसुकै लेखकले लेखे पनि कथा भनेर लेखेको भए कुनै आपत्ति हुने थिएन। आपत्तिचाहिँ यही कि कथालाई समात्ने इतिहासलाई चाहिँ तोडमरोड गर्ने गरेको हुनु हो। जसरी राजहासले पानीबाट दुधको दुध पानीको पानी छुट्याउँछ। त्यसरी नै कथामा भएको ऐतिहासिक तत्त्वलाई मात्र ग्रहण गरेको भए सुनमाथि सुगन्ध हुने थियो। त्यस्तो चाहिँ वुंगमलोकश्वरको इतिहास लेख्ने लेखकहरूबाट भइरहेको छैन।
वास्तवमा नेपालमण्डलमा करुणामय आर्यावलोकितेश्वरको ध्यान दर्शन पूजा इसापूर्वकालदेखि भएर आएको हो। मूर्तिहरू प्राप्त भएको देखिएकै पाँचौं शताब्दीदेखि अटुट रूपले आइरहेको तथ्य जग जाहेर छ। त्यसैले सातौं शताब्दीमा राजा नरेन्द्रदेवको पालामा जात्रा चलाएको कुरा तथ्यको रूपमा आउँछ। त्यस्तै दशौं शताब्दीमा राजा गुणकामदेवको पालामा आएर भोटो जात्रासमेत थपियो।
यसरी जात्रा चलाउन जुन विधिविधान अपनाउनुपर्ने हो सो कुरा आचार्य बन्धुदत्तको ठुलो भूमिका रहेको अवश्य हो। इतिहासजगत्मा नरेन्द्रदेव नाम गरेको राजा नै चारपाँच जना देखिए भने बन्धुदत्त नाम गरेका आचार्य असंख्य मात्रामा देखा परे। ती सबै आचार्य बन्धुदत्त करुणामय आर्यावलोकितेश्वरको जात्रा चलाउनमा योगदान दिएको व्यक्ति ठहर्ने बिल्कुलै होइन।
राजा नरेन्द्रदेवको पालामा चलेको नेपालको आफ्नै संवत् हुँदाहुँदै कलिगत संवत् लिनुपर्ने आवश्यकता छैन। एकजनाले हचुवाको भरमा ३६७६ लेख्नेबित्तिकै त्यो ठिक बेठिक केही नछुट्याई सबैले आँखा चिम्लेर ग्रहण गर्दै आउनु उचित होइन। प्रथम नरेन्द्रदेवले ३५ वर्ष पूरा राज्य गरेका थिए भने दोस्रो र तेस्रो नरेन्ददेवले पनि ३५ वर्ष राज्य गरेको प्रमाण खुलेको हुनुपर्यो त्यो छैन। त्यतिबेला भक्तपुरमा नरेन्द्रदेव पाटनमा वरदेव थिए भन्नु इतिहास तोडमरोड गरेको ठहरिनु हो।
बन्धुदत्त शान्तिकर वज्राचार्यको शिष्य पनि भन्ने शान्तिकर वज्राचार्य दशौं शताब्दीको गुणकामदेवको समकालीन भन्दै गर्दा चेला बन्धुदत्त भने सातौं शताब्दीको भनेर जिकिर गर्ने जस्तो अशोभनीय कुरा इतिहासविरुद्ध हुने कुरा हो। त्यसमाथि मछिन्द्रनाथको कथा १२ औं शताब्दीदेखि चलेर आएको पनि देखाउने यता इतिहास चाहिँ लिच्छविकालसँग जोड्ने गर्दा तालमेल कहीं नमिल्ने भएकाले यसप्रकारको इतिहासको मर्महीन कुरा कसैले गर्नु गराउनु भएन भन्ने नै यस लेखको मूल उद्देश्य हो।
प्रकाशित: १३ वैशाख २०८२ ०६:५८ शनिबार





