मुक्तिनाथ विकास बैंक लिमिटेडले उन्नाइसौँ वर्ष पूरा गरी बीसौँ वर्षमा प्रवेश गरेको अवसरमा पौष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यस अवसरलाई सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागितासँग जोड्दै उल्लेखनीय गतिविधिहरू सञ्चालन गरेको जनाएको छ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा आयोजित बृहत् रक्तदान कार्यक्रममार्फत कुल ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार केन्द्रहरूलाई हस्तान्तरण गरिएको छ।

यसै अवसरमा “सन २०५० मा मेरो नेपाल” शीर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूका लागि राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न गरिएको थियो। प्रतियोगितामा देशभरबाट ७९१ विद्यार्थी सहभागी भएका थिए। काठमाडौँकी रिया खड्का सर्वोत्कृष्ट घोषित हुँदै प्रथम पुरस्कारस्वरूप रु. ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भइन्। प्रत्येक क्षेत्रीय कार्यालय अन्तर्गत उत्कृष्ट चित्रकारलाई जनही रु. १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले सातै प्रदेश समेट्ने गरी कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति, विद्यालयहरूमा न्यानो कपडा र स्टेशनरी वितरण, बागमती सरसफाइ महाअभियानलाई सरसफाइ सामग्री सहयोग, सेवा आश्रमलाई सिरक तथा डस्ना सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण, हुम्लाको अदानचुली गाउँपालिकाका विपन्न परिवारलाई सिलाइ मेसिन वितरण तथा ई–नेबल नेपालमार्फत बालबालिकालाई कृत्रिम हात हस्तान्तरण जस्ता कार्यक्रम सम्पन्न गरेको छ।
केन्द्रीय कार्यालयमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । कार्यक्रममा बैंकको संस्थागत गीत विमोचन, १० वर्ष सेवा पूरा गरेका ४७ जना कर्मचारीको सम्मानसमेत गरिएको थियो। कार्यक्रममा सञ्चालक, सेयरधनी, सेवाग्राही तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रकाशित: २१ पुस २०८२ १६:०२ सोमबार





