साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन पनि ओरालो लागेको छ।
सोमबार नेप्से ३०.६० अंकले घटेर २,५७०१८ विन्दुमा बन्द भएको हो। यससँगै सेन्सेटिभ इन्डेक्स ३.०४ अंक, फ्लोट इन्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१७ अंकले घटेका छन्।
बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन ३६८ वटा कम्पनीका ४ करोड १७ लाख २५ हजार कित्ता शेयर ५१ हजार २९५ पटक खरिद–बिक्री हुँदा कुल ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। ऋणपत्र कारोबारमा आएको वृद्धि कारोबार रकम बढ्नुको प्रमुख कारण बनेको छ।
कारोबार रकमका आधारमा एनएमबी डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ अग्रस्थानमा रह्यो। त्यसपछि १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ र एभरेष्ट बैंक डिबेञ्चर २०९१ को उच्च कारोबार भएको छ।
यस दिन कारोबारमा सहभागी सबै १३ उपसमूहका परिसूचक घटेका छन्। व्यापार उपसमूह सर्वाधिक २.३० प्रतिशतले ओरालो लाग्दा वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन उपसमूहमा पनि एक प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।
प्रकाशित: २९ असार २०८३ १६:४६ सोमबार





