२७ मंसिर २०८२ शनिबार
image/svg+xml
बजार

नाडा अटो शो २०२५ः कीर्तिमानी अवलोकनकर्ता, उड्ने कारमा सबैकाे ध्यान

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शो २०२५ सकिएको छ। काठमाडौँको भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको मेलाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समापन गरे ।  

प्रदर्शनीमा प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, विभिन्न दलका नेताहरु, पूर्वगभर्नर दीपेन्द्र क्षेत्री, बैंकर, उच्च अधिकारीहरू, संघ–संस्थाका प्रतिनिधि, कलाकार र राष्ट्रिय महिला फुटबल कप्तान सबित्रा भण्डारीलगायतले अवलोकन गरेका थिए । अन्तर्राष्ट्रिय स्तरबाट पनि भारतीय अटो उद्योग प्रतिनिधिहरूको उपस्थिति रह्यो।

६ दिनसम्म चलेको प्रदर्शनीमा १ लाख ७६ हजार ७८९ दर्शकले अवलोकन गरेका थिए । यो संख्या अहिलेसम्मकै सर्वाधिक हो । व्यवस्थित स्टल, नवीनतम अन्तर्राष्ट्रिय मोडेलका सवारी साधन, उड्ने कार, रोबोटिक म्यान र कुकुर तथा थुप्रै विद्युतीय सवारी साधनले दर्शकलाई आकर्षित गरेको बुझाई आयोजकको छ ।  

नाडाले प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरेको थियो। पहिलो दिन इण्टरनेशनल अटो ट्रेड डायलग, दोस्रो दिन नेपालमा इभि अपनत्व, तेस्रो दिन कर्जा नीति र अटो बजारको निकास, चौथो दिन फ्लाइङ कार टेक्नोलोजी तथा युथ मोबिलिटी एण्ड नेशनल ड्रीम, पाँचौं दिन सडक र यातायात, र समापन दिन मेड इन नेपाल विषयमा बहस तथा छलफल भएका थिए। यी कार्यक्रममा सरकारका सचिवदेखि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, पूर्व गभर्नर, ट्राफिक प्रहरी प्रमुख र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  

यसवर्ष उत्कृष्ट चारपाङ्ग्रे स्टलको पुरस्कार एमएडब्लु अटो कर्पले, दुईपाङ्ग्रे स्टलको पुरस्कार रोयल इन्फिल्ड अल्फा अटोमोटिभ ले, लाइट कमर्सियल स्टलको पुरस्कार अद्धेत इभि ले र उत्कृष्ट सपोर्टिङ स्टलको पुरस्कार हिट्को प्रा।लि। ले जितेका छन्। बैंक तथा बीमा क्षेत्रमा ग्लोबल आईएमई बैंक उत्कृष्ट घोषित भएको छ।

समापनकै दिन बसेको नाडा कार्य समितिको २१औं बैठकले संगठनलाई नाडा अटोमोबाइल्स महासंघ नेपालमा रूपान्तरण गर्ने ऐतिहासिक प्रस्ताव गर्दै भदौ २४ गते विशेष साधारण सभा बोलाउने घोषणा गरेको छ। यसलाई नाडाको स्वर्ण जयन्ती वर्षको तयारीका रूपमा लिइएको छ।

नाडा अटो शो २०२५ लाई सफल बनाउन योगदान पुर्याउने सबैलाई नाडाका अध्यक्ष करण चौधरीले धन्यवाद व्यक्त गर्दै यसले अटो उद्योगलाई पुनः चलायमान बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ९ भाद्र २०८२ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App