राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको वर्तमान संविधान मरिसकेको र यसलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु मात्र भएको बताएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संविधान संशोधन वा सुधारको कुरा गर्नुभन्दा पनि देशमा नयाँ समझदारी कायम गर्नुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा उनले भने, ‘हामीले संविधानलाई गीता, बाइबल वा कुरान जस्तो अपरिवर्तनीय होइन, संशोधन गर्न सकिन्छ भनेर पहिलेदेखि नै भन्दै आएका थियौँ। तर अहिलेको अवस्थामा संविधान कहाँ छ र ? संविधान त मरिसकेको छ।’
उनले मृत संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नुभन्दा देशलाई नयाँ शिराबाट अघि बढाउनु आवश्यक रहेको औंल्याए।
अध्यक्ष लिङ्देनले मुलुक गम्भीर भू–राजनितिक चक्रव्यूहमा फसेको र निर्णायकत्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘यो एमालेको महाधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित नभई देशलाई केन्द्रमा राखेर कसैले नहार्ने र देशले जितने दिशा निर्धारण गर्न सफल हुनुपर्छ।’
उनले २०६२/६३ पछिको परिवर्तनका उपलब्धिका रूपमा रहेका गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता विषयमा प्रश्न उठाउँदै भने, ‘हामीले २०४६ सालको परिवर्तन, २०६२/६३ को आन्दोलन र त्यसपछिका उपलब्धिलाई अस्वीकार गरेका थिएनौँ होला, तर ती परिवर्तनले देशलाई कहाँ पुर्यायो भन्ने समीक्षा गर्ने बेला आएको छ।’
अध्यक्ष लिङ्देनले देश बचाउन र बनाउनका लागि परम्परागत शक्ति (राजसंस्था), राजनीतिक दलहरू र नवयुवा पुस्ताबीच नयाँ समझदारी कायम गर्नुपर्ने प्रस्ताव राखे।
उनले भने, ‘अब कसैलाई निषेध गरेर होइन, सबै शक्तिहरू एक ठाउँमा उभिएर नयाँ समझदारीका साथ अघि बढ्नुपर्छ।’
प्रकाशित: २७ मंसिर २०८२ १६:५७ शनिबार





