२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
बजार

भरतपुरमा भोलिदेखि रात्रिकालीन बजार सञ्चालन हुने

फाइल तस्बिर

भरतपुर महानगरपालिकाले उत्पादन भएका सामग्रीहरुको प्रवर्द्धनका लागि रात्रिकालीन बजार सुरु गर्ने तयारी गरेको छ । भरतपुर महानगरपालिका–२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रिकालीन बजार सुरु गर्न लागिएको हो ।  

स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित रात्रिकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताए । हरेक शुक्रबार साँझ ६ बजेदेखि १० बजेसम्म बजार सञ्चालन हुने उनले जानकारी दिए।  

अध्यक्ष रानाभाटका अनुसार स्थानीय तथा प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजार सञ्चालन गर्ने तयारी गरिएको हो । भोलि असार २७ गते शुक्रबारदेखि बजार सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए । बजारमा वडाबासीलाई प्रदर्शनी कक्षहरु निःशुल्क प्रदान गरिने छ भने महानगर बासीलाई सामान्य शुल्क लिएर स्टल प्रदान गर्न लागिएको हो ।  

उनले भने, “आफ्नै घरमा उत्पादन भएका प्राङ्गारिक बस्तु तथा अन्य उत्पादित बस्तुले सहजै बजार पाओस भन्ने उद्देश्यले बजार सुरु गर्न लागिएको हो ।” यसले स्वरोजगारलाई प्रवर्द्धन गर्न सहज हुने विश्वास लिइएको छ ।

रात्रिकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकला, रेष्टुरेण्ट, कपडा लगायतका प्रदर्शनीकक्षहरु रहनेछन । रात्रिकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारी साधन चलाउन नपाइने र सडकपेटीमा कक्षहरु राखिने व्यवस्था मिलाईएको छ ।  

पहिलो शुक्रबार ६० भन्दा बढि कक्षहरु रहने छन् । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङ्ग लगायत २४ सै घण्टा सिसिटीभीले निगरानी गरिने छ । उपभोक्ताले गुणस्तरीय तथा सहुलियत रुपमा सामान खरिद गर्न पाउने अध्यक्ष रानाभाटले बताए । -रासस

प्रकाशित: २६ असार २०८२ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App