नेपाल प्रहरीको एक अधिकृतले बोकेको पेस्तोल तस्करहरुले खोसेर लगेको घट्ना सनसनी भएको छ । बाराको कबही इलाका प्रहरी कार्यालय कबहीमा कार्यरत सईको पेस्तोल सीमा क्षेत्रमा तस्करी गर्ने समूहले थुतेर लगेको घटनाले प्रहरीलाई तनाव दिएको छ । डिउटीमा बसेको बेला पेस्तोल ताक्दा खोसेर लगेका थिए ।
चार दिन अघि सई सोनुकुमार मिश्रले बोकेको पेस्तोल खोसेर लगेका हुन् । पुस ११ गते साँझ तस्करीको एउटा समूहले सोनुकुमार मिश्रले बोकेको पेस्तोल खोसेका हुन् । उनी आफ्नो क्षेत्रमा निकै कमजोर प्रहरी अधिकृत भएको थाहा पाएपनि जिल्ला प्रहरी कार्यालयले उनको ठाउँमा अर्को अधिकृत नपठाउदा यस्तो घट्ना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो सम्बन्धमा बिहीबार प्रदेश प्रहरी कार्यालयले छानविन समिति बनाएको छ । एसपी भेषराज रिजालको संयोजकत्वमा छानविन समिति बनाएको हो । मधेस प्रदेशका डिआइजी गोविन्द थपलियाले पेस्तोल हराएको जानकारी आएकाले छानविन समिति बनाएको बताए ।
‘हामीले छानविन समिति बनाएका छौँ, तथ्य के हो पत्ता लागिहाल्छ’, डिआइजी थपलियाले भने ।
सो घट्नालाई तीन दिनसम्म गुपचुप राखिएको थियो । १३ गते मात्रै बाहिर ल्याइएपछि उनीमाथि आन्तरिक रुपमा छानविन सुरु गरिएपनि तथ्य पत्ता नलागेपछि मधेस प्रदेश कार्यालयले नै छानविन समिति बनाएको हो ।
निर्वाचनको बेला प्रहरीले आफ्नो पेस्तोल सुरक्षा गर्न नसकेको भन्दै आन्तरिक रुपमा सई मिश्रलाई कारवाही हुने संकेत देखिएको छ।
प्रकाशित: १७ पुस २०८२ १९:५२ बिहीबार




