सर्लाहीमा प्रहरी चौकीमाथि आक्रमण गरी तोडफोड गरेको आरोपमा एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
गोडैता नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष छोटेलाल भनिने बिनेश कुमार दासलाई प्रहरी चौकीमा आक्रमण गरी सवारीसाधन तोडफोड र प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
गत शनिबार सर्लाहीको गोडैता बजारमा दुर्गा पूजाको चन्दाको विषयमा दुई पक्षबिच विवाद सुरु भएको थियो।
दुई पक्षबिच भएको विवाद साम्य पार्न खटिएको प्रहरी चौकी गोडैताको टोलीले रामनगर गाउँपालिका ५ का अनिल राय यादवलाई नियन्त्रणमा लिएपछि वडाध्यक्ष दाससहितका केही व्यक्तिहरूले चौकीमाथि ढुंगा–मुढा गरी तीनवटा मोटरसाइकल तोडफोड गरेका थिए।
वडाध्यक्ष दाससहितका स्थानीयले प्रहरी चौकीमाथि ढुंगा–मुढा गर्ने क्रममा चौकीमा कार्यरत पाँच प्रहरी कर्मचारीसहित चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सइ) अवधेश प्रसाद यादवको मुखमा ढुंगा लागेर अगाडिको दुई दाँत भाँचिएर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका सइ यादवसहितका प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घाइते सइ यादवको प्रहरी प्रतिवेदनले कुटपिट, अंगभंग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव मुद्दामा वडाध्यक्ष दासलाई सर्लाही प्रहरीले पक्राउ गरेको डिएसपी सरोज राईले बताए। पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला अदालत सर्लाहीमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको डिएसपी राईले बताए।
प्रकाशित: २२ आश्विन २०८२ ११:३३ बुधबार





