२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:२ पूर्वाह्न
अपराध

जबरजस्ती करणी आरोपमा उदयपुरबाट दुई पक्राउ

उदयपुर प्रहरीले नाबालिका तथा बालिकामाथि भएको जबरजस्ती करणीको दुई छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा एक अधवैंसे पुरुष र एक युवालाई पक्राउ गरेको छ।

७ वर्षीया नाबालिका र १६ वर्षीया बालिकामाथि भएको जघन्य अपराधमा संलग्न दुवै आरोपी घटनालगत्तै फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, साउन २२ गते १६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका-११, साकेला टोलका २२ वर्षीय सागर परियारलाई सोमबार पक्राउ गरिएको हो।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो। घटनापछि फरार रहेका परियारलाई घरमै लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, अर्को एक दर्दनाक घटनामा ७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा त्रियुगा नगरपालिका-११, बरुवाटारका ४५ वर्षीय शुभराज राई पक्राउ परेका छन्।

राईले साउन १४ गते मध्यराति आफ्नो घरमा डेरा गरी बस्ने परिवारकी ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। घटना सार्वजनिक भएपछि उनी पनि फरार भएका थिए।

जिल्ला प्रहरी प्रवक्ता, डीएसपी केदारमान दोङका अनुसार, पीडित परिवारको उजुरीपछि खोजतलास गर्ने क्रममा तीन दिनअघि राईलाई पनि उनको घरबाटै पक्राउ गरिएको हो।

डीएसपी दोङले दुवै आरोपीलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रकाशित: २७ श्रावण २०८२ १५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App