१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

फेक अकाउन्ट बनाएर साढे २ लाख ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीका लागि लण्डनमा रहेका व्यक्तिको नक्कली फेसबुक अकाउन्ट बनाई साढे दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार वीरगन्ज महानगरपालिका-८ बाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाउँपालिका-१ का २० वर्षीय जस्मुदिन अन्सारी र पर्साको बहुदरमाई नगरपालिका-१ का २० वर्षीय विशाल पटेल रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार वीरगन्ज-१६ बस्ने ४९ वर्षीय शिव पुजन बैठाको घरमा डेरा गरी बस्ने रौतहट घर भएका एक व्यक्तिको तस्वीर प्रयोग गरी उनीहरूले फेक फेसबुक र म्यासेन्जर आईडी बनाएका थिए। डेरावाला हाल वैदेशिक रोजगारीका लागि युकेको लण्डनमा छन्।

अन्सारी र पटेलले तिनै डेरावालाको नक्कली आईडीबाट घरभेटी बैठालाई म्यासेज गरी विभिन्न बहानामा झुक्यानमा पारेर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना विरुद्ध ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८३ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App