२९ असार २०८३ सोमबार
image/svg+xml
अपराध

विवाह गरि अमेरिका लैजान्छु भनी टिकटकबाट १५ लाख ठगी गर्ने दुई जना पक्राउ

सामाजिक सञ्जाल टिकटकको दुरुपयोग गरी अमेरिका लैजाने र विवाह गर्ने प्रलोभन देखाएर १५ लाख १० हजारभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङ्जा भीरकोट नगरपालिका–२ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३९ वर्षीय संजिव नेपाली र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१२ की ३३ वर्षीया ‘अनुष्का’ भन्ने सरिता पराजुली रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूले प्रिन्स तामाङ नामको टिकटक आइडी प्रयोग गरी पीडितसँग सम्पर्क बढाएका थिए। उनीहरूले आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै अङ्ग्रेजी भाषामा कुराकानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साइबर ब्यूरोका अनुसार उनीहरूले आफ्नो वास्तविक अनुहार नदेखाई पीडितलाई विवाह गरेर अमेरिका लैजाने झुटा आश्वासन र प्रलोभन देखाएका थिए। यसै प्रक्रियामा उनीहरूले पीडितबाट विभिन्न बहानामा पटक-पटक गरी कुल १५ लाख १० हजार ५ सय रुपैयाँ रकम असुल गरेको उजुरी ब्यूरोमा परेको थियो।

पीडितको उजुरीका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले प्राविधिक विश्लेषण र अनुसन्धानका आधारमा उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि थप अनुसन्धानका लागि विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ।

प्रकाशित: ३ असार २०८३ १६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App