९ पुस २०८२ बुधबार
image/svg+xml
अपराध

सामाखुशीमा नक्कली सरकारी कागजात बनाउने ‘कारखाना’, तीन जना पक्राउ

जिल्ला प्रहरी परिसर, काठमाडौंले एसइईको प्रमाणपत्र, प्रहरी रिपोर्टदेखि विभिन्न अनुभवका पत्रहरूसम्मका नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-२६, सामाखुशी टाउनप्लानिङस्थित एक पसलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा गोरखाको शहीद लखन गाउँपालिका-४ घर भई हाल काठमाडौं-३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ घर भई हाल धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ घर भई हाल गोंगबु बस्ने २९ वर्षीय सविन आले मगर रहेका छन्।

लामिछानेले सञ्चालन गरेको ‘ईजी सप’ नामक पसलमा नक्कली कागजातहरू बनाइने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले छापा मारेको थियो।

पसलमा खानतलासी गर्दा सरकारी तथा गैरसरकारी कार्यालयहरूका किर्ते कागजातहरू कम्प्युटरमा फेला परेपछि प्रहरीले उक्त कम्प्युटर बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका तीनै जनालाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए।

प्रकाशित: १६ भाद्र २०८२ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App