झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको हत्या आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेका छ ।
सोही ठाउँका २३ वर्षीय राहुल साह र २७ वर्षीय सुनिल साहलाई प्रहरीले शुक्रबार पक्राउ गरे पनि आइतबार मात्रै सार्वजनिक गरेको हो । पक्राउ परेका साहद्वय मामाभान्जा नाताका हुन् । उनीहरु मृतक शर्माका छिमेकी समेत हुन् । मृतक शर्मा कात्तिक ९ गते साथीलाई भेट्न जाने भनेर घरबाट हिँडेका थिए । घर नआएपछि परिवारले कात्तिक १० गते प्रहरी कहाँ खोजीकार्यका लागि निवेदन दिएका थिए । तर, घरबाट हिँड्को एक सातापछि (शनिबार) पुलमुनि गाडेको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो ।
सुन खरिदबिक्रीको बहानामा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, झापा प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले भने, ‘हत्यामा संलग्न भएका सुनिल र राहुललाई पक्राउ गरेका छौं भने अर्का एक जना फरार भएका छन् । फरार भएकाको खोजी कार्य तीव्र बनाएर घटनाको थप अनुसन्धान गरिरहेको छौं । घर यहाँ भए पनि काठमाडौं बस्दै आएका शर्मालाई सस्तो सुन देखाउने बहानामा अर्जुनधारा नगरपालिका–४ स्थित दहीझोडा सामुदायिक वनमा लगेर हत्या गरेका देखिन्छ ।’
काठमाडौंबाट घरमा दसैँ मान्न आएका सरोज सस्तो सुनको खोजीमा थिए । सोही टोलका साथी सुनिल साहलाई उनले सुन चाहिएको बताए र आफू थोरै सुन किन्ने र काठमाडौंमा थप ग्राहक रहेको जानकारी दिएका थिए । छठपछि काठमाडौं फर्किने तयारीमा रहेका शर्मासँग रहेको पैसा लुट्ने योजना सुनिल र उनका नाताले भान्जा पर्ने छिमेकी राहुलले बनाए ।
सुन देखाउने बाहानामा शर्मालाई जंगल लगेर बेहोस बनाइ अपहरण गर्ने, पैसा लुट्ने र परिवारसँग फिरौती माग्ने योजना उनीहरुले बनाएका थिए । तर, हतौडाले प्रहार गरी शर्माको हत्या गरेको खुलेको डिएसपी खड्काले बताए ।
उनका अनुसार कात्तिक ९ गते बेलुका पूर्वयोजनाअनुसार शर्मालाई सुन देखाउन भन्दै दहीझोडा सामुदायिक वनमा लगियो र सुन राखिएको स्थान भन्दै जंगलमा माटो खोस्रिरहेकै बेला शर्माको टाउकोमा पछाडिबाट हतौडाले प्रहारपछि चिच्याएकाले आवाज बाहिर नजाओस् भनी पटकपटक टाउकोमा प्रहारबाट हत्या भएको देखिन्छ ।
शर्माको घटनास्थलमै मृत्यु हुँदा साँझ परिसकेको र शवलाई सेउलाले छोपेर उनी सवार गाडी जंगलमै छाडेर उनीहरु सुनिलको गाडीमा फर्किए । उनीहरु पुनः राति सोही स्थानमा एक जना भारतीय नागरिकलाई लिएर पुगेको बताउँदै, डिएसपी खड्काले भने, ‘भारतीय नागरिकको सहयोगमा शर्माको शवलाई मृतककै गाडीमा राखेर हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–५ बिरिङ खोलाको पुलमुनि लगेर गाडेपछि प्रमाण नष्ट गर्न उद्देश्यले शर्माको गाडीलाई अर्कै जंगलमा लगेर जलाए । गाडी जलाउँदा सुनिलको दुवै हात जल्यो ।’
गत बिहीबार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र एउटा कार जलेको अवस्था प्रहरीले फेला पार्यो । कार लिएर बेपत्ता भएका शर्माको खोजी गर्ने क्रममा शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार जलेको पुष्टि भयो र गाडी भेटिएको २ दिनपछि शनिबार शर्माको शव पनि प्रहरीले फेला पार्यो ।
डिएसपी खड्काले भने, ‘घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा मुख्य योजनाकार सुनिल साहलाई भारततर्फ भाग्दै गर्दा विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट पक्राउ गरियो । त्यसपछि घरमै लुकेर बसेको अवस्थामा राहुललाई पक्राउ गरेको हो । संलग्न भएका अर्को व्यक्ति भारतीय नागरिक फरार छन् । उनी पक्राउ परेकाहरुकै आफन्त रहेको खुलेको छ ।’
घटनाका मुख्य योजनाकार सुनिल यसअघि पनि आपराधिक क्रियाकलाप मोटरसाइकल चोरी र लागुऔषध मुद्दामा पनि पक्राउ परेका थिए । पक्राउ परेकालाई म्याद थप गरी घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १६ कार्तिक २०८२ २१:१७ आइतबार





