उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचान जोगाउन र सामाजिक समरसता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
हरितालिका तिज, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै उनले भाद्र शुक्ल तृतीयाको दिन मनाइने हरितालिका तिज पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताएका छन्।
उनले भनेका छन्, 'प्रकृतिको हरियालीले सिंगारिएको मौसममा मनाइने यो पर्व उत्सव, उमंग, उल्लास र आत्मीय मिलनको सन्देश बोकेर आउँछ, नेपाली समाजको बहुरंगी संस्कृति र विविध परम्पराबिच मनाइने यो पर्वले हामीलाई एकता, सहिष्णुता र आपसी सद्भावको मार्गमा अग्रसर हुन सघाउँछ।'
पारिवारिक समर्पणको प्रतीक यो पर्वमा विवाहित महिलाले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ भने कुमारी कन्याले भगवान् शिवजस्तो योग्य वरको कामना गर्दै मनाउने चलन र धार्मिक मान्यता रहिआएको छ।
सामाजिक एकता र मेलमिलापको सन्देश बोकेको तिज पर्वले विभिन्न समुदायबिचको सम्बन्धलाई प्रगाढ बनाउने अवसर प्रदान गर्छ र टाढा पुगेका छोरीचेलीलाई माइतीले बोलाउने मौलिक परम्पराले सामाजिक÷पारिवारिक आत्मीयता र सद्भाव कायम राख्न सघाउने उनको भनाइ छ। उनले सन्देशमा भनेका छन्, 'नेपालमा बसोबास गर्ने विभिन्न जाति, समुदायले धुमधामसाथ मनाउने यो पर्वले सांस्कृतिक विविधता बोकेको छ, यो पर्वले नेपाली समाजको सांस्कृतिक विविधता र एकतालाई बलियो बनाउन सहयोग गर्छ।'
महिलाले परम्परागत गीत गाउँदै मनोरञ्जन गर्ने, दुखसुखका भावना व्यक्त गर्ने माध्यमको रूपमा तिजलाई उपयोग गर्ने हाम्रो रैथाने प्रचलन हो। तिजको अघिल्लो दिन मीठा परिकार बनाई आफन्तसँग रमाइलो गर्दै 'दर' खाने चलनले सामाजिक सम्बन्धलाई बलियो बनाउन सहयोग गर्छ। उपराष्ट्रपति यादवले सबैले तिजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै मर्यादित र मौलिक ढंगले मनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रकाशित: १० भाद्र २०८२ ०७:१५ मंगलबार





