सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। ७० वर्षीय रामदुलार साहलाई अपरिचित हतियारधारी समूहले शनिबार राति गोली हानी हत्या गरेको सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बर पुरीले जानकारी दिए।
प्रहरीका अनुसार साह आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेको अवस्थामा पछाडिबाट दुई गोली प्रहार भएको थियो। गोली नाभी नजिकै ढाडतर्फ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
घटना जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान थालेको जनाएको छ।
घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति हाल फरार रहेको र खोजीमा टोली खटिएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोना दुवैतर्फबाट अतिरिक्त टोली खटाइएको छ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिहरूमाथि कडाइ गरी चेकजाँच तीव्र बनाइएको छ। शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रकाशित: २ कार्तिक २०८२ ०८:१४ आइतबार





