कपिलवस्तुको मायादेवी गाउँपालिकामा बन्द अवस्थामा रहेको एक राइस मिलबाट प्रहरीले ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–८ स्थित मिलमा छापा मारी १८१ बोरा युरिया र डीएपी मल बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश जैसीका अनुसार बरामद गरिएको मल नियन्त्रणमा लिएर कार्यालयमा राखिएको छ। उक्त मल कसको हो भन्ने अझै खुल्न सकेको छैन भने मिल सञ्चालकको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धान रोपाइँ सुरु भइसकेको समयमा कृषकहरू मल नपाएर छटपटाइरहेका बेला कालोबजारीका लागि अनुदानको मल लुकाएर राखिनु दुःखद भएको स्थानीय किसानहरूको भनाइ छ।
सरकारी निकायहरूले स्थानीय तहको सिफारिसमा कृषि सहकारीहरूलाई मल उपलब्ध गराउँदै आए पनि केही सहकारीले सो मल कालोबजारी गर्ने गरेको किसानहरूको आरोप छ।
नेपालमा अनुदानको युरिया मल प्लाइउड फ्याक्ट्रीमा गम (चोप) बनाउन अवैध रूपमा प्रयोग हुने गरेका कारण पनि यसको कालोबजारी बढेको किसानहरु बताउँछन्। यसवर्ष भारतबाट मल ल्याउन नाकामा सुरक्षाकर्मीले कडाइ गरेपछि नेपाली बजारमा मलको हाहाकार थप चुलिएको छ।
नेपाल किसान संघका सचिव गोविन्द त्रिपाठीले मलको सहज आपूर्ति सुनिश्चित गर्न र अनुदानको मल कालोबजारी हुनबाट रोक्न प्रहरी प्रशासन तथा स्थानीय पालिकाले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।
प्रकाशित: २० असार २०८३ १९:१६ शनिबार





