विराटनगरका दुईवटा क्यासिनोमा छापा मारेर प्रहरीले २० जना नेपालीलाई पक्राउ गरेको छ। आइतबार राति छापा मारेर प्रहरीले क्यासिनो व्यवस्थापकसहित २० जनालाई पक्राउ गरेको हो।
आइतबार बिग होटल परिसरमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्ना होटल परिसरमा सञ्चालित गोल्डेन क्यासिनोमा प्रहरीले छापा मारेर नेपालीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली छन्। पक्राउ परेकाहरूका बारेमा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालले जानकारी दिइन्।
उनका अनुसार पक्राउ पर्नेमा केही क्यासिनोका कर्मचारीहरू पनि रहेकाले छानबिन गरी अवैध रूपमा क्यासिनोमा प्रवेश गरेकाहरूलाई कानुन अनुसार कारबाही गर्ने तयारी भइरहेको बताइन्। क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भए पनि विराटनगरका क्यासिनोमा नेपालीहरू सहज रूपमा आउजाउ गर्ने गरेको सूचना प्रहरीलाई आउने गरेको र आइतबार पनि क्यासिनोमा नेपालीहरू प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले दुवै क्यासिनोमा छापा मारेको प्रवक्ता चुँडालको भनाइ छ।
प्रकाशित: ७ पुस २०८२ १३:०९ सोमबार





