१५ माघ २०८२ बिहीबार
image/svg+xml
अपराध

कानको लोती चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, यसरी मच्चाउँथे आतंक

तस्बिर: विजय राई/नागरिक

पछिल्लो तीन महिनादेखि काठमाडौं उपत्यकामा सर्वसाधारणमाथि शृंखलाबद्ध लुटपाट र आतंक मच्चाइरहेको एउटा संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मध्यरातको सन्नाटामा घर फर्कँदै गरेका सर्वसाधारण लुटिने, कुटिने र महिलाहरूको कानको लोती नै चुँडिने गरी गहना लुटपाटका घटनाले उपत्यकाबासीलाई आतङ्कित बनाएको थियो।

दैनिक दर्जनौंं लुटपाटका उजुरीले प्रहरी अधिकारीहरूलाई नै चुनौती दिइरहेको अवस्थामा सो गिरोहलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ‘अपरेसन स्न्याचिङ’ नै सञ्चालन गर्‍यो।

सोही अपरेसन अन्तर्गत बुधबार साँझदेखि बिहीबार बिहानसम्म चलेको करिब नौ घण्टा लामो कारबाहीका क्रममा मध्यरातमा लुटपाट गर्न निस्किएको सो समूहलाई काठमाडौंको मूलपानीबाट नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।

प्रारम्भिक अनुसन्धानबाट लुटपाटको मुख्य नाइके जेन-जी आन्दोलनको फाइदा उठाउँदै प्रहरी हिरासतबाट भागेका २३ वर्षीय विनय तामाङ रहेको र उनले नै जेलमा चिनजान भएका पुराना अपराधीहरूलाई संगठित गरेर यो गिरोह चलाएको खुलेको छ।

काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा मध्यरातका समयमा लुटपाटको आतंक मच्चाइरहेको सो समूहलाई पक्राउ गर्न काठमाडौं प्रहरीले उपत्यकाका विभिन्न शङ्कास्पद क्षेत्रमा चेक प्वाइन्ट राखेर तथा सादा पोसाकमा प्रहरी खटाएर निगरानी बढाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू, बौद्ध र गौशालाको संयुक्त टोलीले बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ३ बजेसम्म ‘अपरेसन’ चलाएको थियो।

सोही क्रममा गएराति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६, मूलपानीस्थित क्रिकेट मैदान नजिकै प्रहरीले एम्बुस थापेको थियो।

मध्यराति लुटपाटका लागि निस्किएको सो समूह प्रहरीको चेक प्वाइन्टमा आइपुग्दा रोकिनुको साटो उल्टै प्रहरीमाथि नै जाइलाग्न खोजेको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार जाँचका क्रममा मोटरसाइकल नरोकी प्रहरी टोलीलाई नै पेल्दै र आक्रमण गर्ने प्रयास गरेपछि आत्मरक्षा र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो।

उक्त जवाफी कारबाहीमा गिरोहका मुख्य नाइके विनय तामाङको दाहिने खुट्टामा गोली लागेको छ। हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीले घटनास्थल र विभिन्न स्थानबाट गरी यो गिरोहमा संलग्न मुख्य नाइकेसहित १० जनालाई पक्राउ गरेको छ। जसमध्ये अधिकांशको पृष्ठभूमि आपराधिक रहेको पाइएको छ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय नाइके विनय तामाङ, सिन्धुलीको मरिण गाउँपालिका-५ घर भई समूहका कमाण्डर तथा गाडी चालक रहेका २४ वर्षीय आयन माझी र सोही ठाउँका ३२ वर्षीय सविन माझी रहेका छन्।

त्यसैगरी, काभ्रेको चौरीदेउराली-१ घर भएका र दाजुभाइ पर्ने २९ वर्षीय पेमा तामाङ र २० वर्षीय सलोन तामाङ पनि पक्राउ परेका छन्।

पेमा पेसाले ट्याक्सी चालक हुन् भने सलोन आल्मोनियम पसलमा काम गर्ने आवरणमा लुटपाटमा संलग्न थिए।

साथै, काभ्रेकै भुम्लु-१ का १८ वर्षीय राजिब भण्डारी, मोरङको पथरी घर भई खोटाङ ज्वेलर्समा काम गर्ने २३ वर्षीय मनिस रसाइली, रामेछापको दोरम्भा-८ का २२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर-३ का २९ वर्षीय फुर्वा तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यो समूहको लुटपाट गर्ने शैली अत्यन्तै योजनाबद्ध, धूर्त र क्रूर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। एसएसपी थापाका अनुसार उनीहरूले मुख्यतयाः मध्यरातको १२ बजेदेखि बिहान ४ बजेसम्मको समयलाई अपराधका लागि रोज्ने गरेका थिए।

दिउँसोको समयमा समूहका सदस्यहरू आयन माझी र पेमा तामाङले क्रमशः निजी कार र ट्याक्सी प्रयोग गरेर उपत्यकाका सम्भावित क्षेत्र र सुनका गहना लगाएका व्यक्तिहरूको निगरानी गर्ने गर्दथे।

उनीहरूले आफ्नै ट्याक्सीका यात्रुहरूलाई समेत निशाना बनाउने र मौका मिलेमा लुट्ने योजना बुन्ने गरेका थिए। दिनभर ट्याक्सी र कारमा ‘रेकी’ गरिसकेपछि लुटपाटको अन्तिम योजना बनाउन उनीहरू बेलुकी ९ बजेतिर चाबहिल वा अन्य निश्चित स्थानमा भेला हुन्थे। एकै ठाउँमा जम्मा भएर सँगै खाना खाएपछि राति १२ बजेपछि उनीहरू लुटपाटमा निस्किन्थे।

अपराध कर्ममा निस्किँदा भने उनीहरूले दिउँसो प्रयोग गर्ने कार र ट्याक्सी थन्क्याएर मोटरसाइकलको प्रयोग गर्ने गर्थे। पहिचान नखुलोस् भनेर उनीहरूले प्रयोग गर्ने ६ वटा पल्सर मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर नबुझिने बनाउँथे।

यदि बाटोमा प्रहरीले रोकेमा हिलो लागेछ, थाहा भएन भन्ने तयारी जवाफ उनीहरूसँग हुन्थ्यो। एउटा मोटरसाइकलमा तीन जना सवार हुने यो समूहले साथमा खुकुरी लगायतका घरेलु हतियार बोक्ने गरेको प्रहरीले जनाएको छ।

रातिको समयमा एकान्तमा हिँडेका साग बेच्ने महिला, रात्रिकालीन कामदार वा बटुवालाई घेरा हाल्ने, कुटपिट गर्ने र लुटपाट गर्ने उनीहरूको मुख्य कार्यशैली थियो।

लुटपाटका क्रममा उनीहरूले पीडितको घाँटी अठ्याउने, मरणासन्न हुने गरी कुटपिट गर्ने र कानमा लगाएका सुनका गरगहना लोती नै चुँडिने गरी तान्ने गरेको अनुसन्धानबाट खुलेको छ।

गिरोहका मुख्य नाइके विनय तामाङ २०७९ सालमा चोरी र २०८२ सालमा डाँका चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए।

तर, गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको भिडभाड र अस्तव्यस्तताको मौका छोपेर उनी हिरासतबाट फरार हुन सफल भएका थिए।

हिरासतबाट भागेपछि उनले पुराना आपराधिक पृष्ठभूमिका साथीहरू र कारागारमा चिनजान भएका व्यक्तिहरूलाई समेटेर नयाँ र बलियो संगठित गिरोह खडा गरे।

उनले बौद्ध, मूलपानी र स्वयम्भू क्षेत्रलाई आधार बनाएर पछिल्लो तीन महिनायता उपत्यकामा आतंक मच्चाइरहेका थिए।

प्रहरीका अनुसार यो समूहको पोल खुल्नुमा मंगलबार स्वयम्भूको एक घटना प्रमुख कारण बन्यो। मंगलबार बिहान सो समूह स्वयम्भू क्षेत्रमा लुटपाट गरी भाग्दै थियो।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएका सादा पोसाकका प्रहरीले तत्काल घटनास्थलमा पुगेर एकजना लुटेरालाई लखेटेर पक्राउ गर्न सफल भए।

मोटरसाइकल चढ्न नभ्याएर दौडिरहेको अवस्थामा पक्राउ परेका ती व्यक्ति काभ्रेका १८ वर्षीय राजिब भण्डारी थिए। उनको पृष्ठभूमि हेर्दा २०८२ कार्तिक २७ मा भक्तपुरमा चोरी मुद्दामा पक्राउ परेको र मंसिर १७ मा काठमाडौंबाटै मोटरसाइकल चोरी मुद्दा चलेको देखिएपछि अनुसन्धान अधिकृतहरूले उनी लुटपाटको ठूलो गिरोहमा संलग्न भएको यकिन गरेका थिए।

उनै भण्डारीको बयान र मोबाइलको प्राविधिक विश्लेषणका आधारमा प्रहरीले गिरोहको सञ्जाल पत्ता लगाएको थियो र अन्ततः मूलपानीको इन्काउन्टरसम्म पुग्न सफल भयो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका र लुटिएका महत्त्वपूर्ण सामग्रीहरू बरामद गरेको छ।

बरामद सामग्रीहरूमा लुटपाटको रेकी गर्न प्रयोग गरिने बा १२ च ७७०१ नम्बरको फोर्ड फिगो कार, बागमती प्रदेश ०१-०० ज ८७६६ नम्बरको ईभी ट्याक्सी, लुटपाटमा प्रयोग हुने ६ थान पल्सर मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल सेटहरू र खुकुरी लगायतका हतियारहरू रहेका छन्।

प्रहरीका अनुसार यो समूहले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा गरी कम्तीमा ३६ वटा लुटपाटका घटना घटाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जसमध्ये स्वयम्भूमा ७, महाराजगञ्ज, बौद्ध र गौशालामा ३-३ र भक्तपुरको ठिमी क्षेत्रमा १३ वटा घटना भएका छन्। हालसम्म २७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् भने ४ वटा जाहेरी दर्ता भइसकेको छ। यो संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पक्राउ परेका १० जना नै ‘क्रिमिनल रेकर्ड सिस्टम’ मा आपराधिक पृष्ठभूमि भएका पटके अभियुक्तहरू रहेको जानकारी दिए।

उनीहरूमध्ये लुटिएको सुन खरिद गर्ने विदुर विश्वकर्मादेखि लुटपाटको मुख्य योजनाकार विनय तामाङसम्म सबैको संलग्नता पुष्टि हुने आधारहरू फेला परेका छन्।

उनीहरूले लुटेको धनमाल र सुनचाँदी कहाँ र कसरी व्यवस्थापन गर्थे भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरू विरुद्ध चोरी, डाँका चोरी र संगठित अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ।

एसएसपी थापाले पीडितहरूलाई निर्धक्क भएर प्रहरी सम्पर्कमा आउन र जाहेरी दिन आग्रह गरेका छन्।

प्रकाशित: १५ माघ २०८२ २०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App