भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरमा स्रोत नखुलेको नेपाली १४ लाख ५० हजार रूपैयाँसहित प्रहरीले मंगलबार विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहलाई नियन्त्रणमा लिएको हो । नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका उनको साथबाट १४ लाख ५० हजार रूपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर सुरक्षा जाँच गर्दा स्रोत नखुलेको रुपैयाँ बरामद भएको थियो ।
घटनाबारे इलाका प्रहरी कार्यालय रानीका निरीक्षक कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । उक्त रकम हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित: ७ आश्विन २०८२ १८:०१ मंगलबार





