२० मंसिर २०८२ शनिबार
image/svg+xml
अपराध

बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी !

३३ केजी गाँजासहित दुई जना पक्राउ

मोरङको जहदा गाउँपालिकबाट सिरहाको एम्बुलेन्समा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । एम्बुलेन्स चालकसहित २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।  

जहदा गाउँपालिका–३ हात्तिबन्दा हुँदै दक्षिण जाँदै गरेको सिरहाको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा सुखीपुर–१० दहीपौडीको एम्बुलेन्सबाट लागुऔषध गाँजा बरामद गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।  

उनका अनुसार बुधबार राति १० बजेतिर दक्षिण सीमा क्षेत्रतर्फ मोटरसाइकलको स्कटिङमा बिरामी नबोकी जाँदै गरेको एम्बुलेन्सलाई शंका लागी चेक गाँजा भेटिएको थियो ।  

गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्स चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र मोटरसाइकल स्कटिङ गर्ने जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई पक्राउ गरेको डिएसपी चुँडालले बताइन् ।  

राति १० बजेतिर जहदा गाउँ हुँदै दक्षिणतर्फ जाँदै गरेको स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई को ३१ प ८८८९ नम्बरको मोटरसाइकलले स्कटिङ गर्दै लैजाँदै गरेको थियो ।  

सिरहाको एम्बुलेन्स स्कटिङ गर्दै लगेको देखेपछि प्रहरीलाई शंका लागेर रोकेर  चेक गरेको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘यहाँकै एम्बुलेन्स भए पनि बिरामी लिन गएको हो भन्ने हुन्थ्यो । तर, यहाँको एम्बुलेन्स नभई बाहिरको भएको हुँदा थप शंका लागेपछि तत्काललै स्कटिङ गरेको मोटरसाइकल र एम्बुलेन्सलाई रोकेर चेक गर्दा एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा फेला पर्‍यो ।’

कसैले शंका नगर्ने भएको हुँदा एम्बुलेन्समा गाँजा राखेर भारतर्फ लैजान लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एम्बुलेन्ससहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: २० कार्तिक २०८२ १९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App