राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ परेका छन्। दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाट पक्राउ गरेको हो।
राजापुर गोली काण्ड घटनाका मुख्य आरोपी चौधरी कैलालीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए। यसअघि सोधपुछका लागि राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेष्टुरेन्टकी संचालक रामकुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
गत आइतबार गोली प्रहारबाट दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २७ वर्षीय निरज थारुको मृत्यु भएको थियो। राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेस्टुरेन्टमा आइतबार बिहान ८ बजे निरज अचेत अवस्थामा भेटिएका थिए। उपचारका लागि नेपालगंज पुर्याउँदा उपचारका क्रममा उनको मृत्यु भएको थियो।
प्रहरीका अनुसार मृतक थारुको दुवै कानको तल प्वाल देखिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ। घटना किन र कसरी भयो भन्ने विषयमा अझै खुलेको छैन।
राजापुर नगरपालिका–४ स्थित कुखुरा फर्ममा निरज थारु काम गर्दै आएका थिए।
प्रकाशित: २५ मंसिर २०८२ ०९:२० बिहीबार





