३२ असार २०८३ बिहीबार
image/svg+xml
अपराध

सीमापार लागूऔषध तस्करीविरुद्ध मधेस प्रहरीको ‘जिरो टोलरेन्स’ अभियान

नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै बढ्दो लागूऔषध तस्करी मधेस प्रदेशको सुरक्षा चुनौतीका रूपमा देखिएको छ। भारतीय सीमावर्ती क्षेत्रबाट ब्राउन सुगर, ट्रामाडोल, कोरेक्सलगायत प्रतिबन्धित औषधि नेपाल भित्र्याउने र नेपालबाट गाँजा तथा चरेश भारततर्फ तस्करी गर्ने गिरोह सक्रिय बन्दै गएपछि मधेस प्रदेश प्रहरीले असारको पहिलो सातादेखि ‘जिरो टोलरेन्स’ नीति अपनाएर विशेष नियन्त्रण अभियान सञ्चालन गरेको छ।

पछिल्ला दुई सातामा सिरहा र पर्सामा भएका तीन ठूला कारबाहीले सीमापार लागूऔषध तस्करीको सञ्जाल संगठित र हिंसात्मक बन्दै गएको संकेत दिएका छन्। पक्राउबाट बच्न तस्करहरूले प्रहरीमाथि नै गोली प्रहार गर्न थालेपछि प्रहरीले पनि कानुनबमोजिम बल प्रयोग गर्दै अभियानलाई थप कडा बनाएको छ।

सिरहामा प्रहरीमाथि गोली, जवाफी फायरपछि तस्कर पक्राउ

असार १९ गते सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित नेपाल–भारत सीमाबाट दुईवटा मोटरसाइकलमा ब्राउन सुगर ल्याइँदै गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। रोक्न खोज्दा एउटा मोटरसाइकल फरार भए पनि अर्को मोटरसाइकलमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा तस्करले कटुवा पेस्तोलबाट प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेका थिए।

आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड जवाफी फायर गर्दा भारतको बिहार राज्य मधुबनी जिल्ला बिरपुर ग्राम पञ्चायत–३ का ३५ वर्षीय अब्दुल कलामको बायाँ खुट्टामा गोली लागेको थियो। उनलाई नियन्त्रणमा लिएर प्रहरीले एक थान कटुवा पेस्तोल र १२२ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। घाइते कलामको उपचार प्रादेशिक अस्पताल सिरहामा प्रहरी निगरानीमा भइरहेको छ।

अर्को कारबाहीमा प्रहरी जवान घाइते

यसअघि असार ७ गते सिरहा नगरपालिका–२१ लकडिगोठ क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको थियो। झडपपछि प्रहरीले गोली चलाउँदा भारतको मधुबनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ का २८ वर्षीय रञ्जित कुमार पासवान (छोटु) र १७ वर्षीय रमन कुमार पासवान पक्राउ परेका थिए। रञ्जितको दाहिने खुट्टाको पिँडुलामा गोली लागेको थियो।

घटनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रहरी जवान हृदय नारायण ठाकुर पनि घाइते भएका थिए। पक्राउ परेका दुवै जनाको साथबाट ९२ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

पर्सामा ट्रकबाट १ लाख २० हजारभन्दा बढी ट्रामाडोल बरामद

असार ९ गते पर्सामा गरिएको अर्को कारबाहीमा लागूऔषध तस्करीको फरक स्वरूप उजागर भएको छ। वीरगञ्जस्थित पीआर ढुवानी सेवाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो।

विस्तृत जाँचका क्रममा ट्रकबाट ट्रामाडोलका १२ हजार पत्ता अर्थात् करिब १ लाख २० हजार ट्याब्लेट बरामद भएपछि घटना लागूऔषध तस्करीसँग जोडिएको खुलेको थियो।

२० दिनमै ५८ जना पक्राउ

मधेस प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभु ढकालका अनुसार असारको पहिलो सातादेखि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा सञ्चालन गरिएको विशेष अपरेशनबाट लागूऔषध कारोबारमा संलग्न ५८ जनालाई पक्राउ गरिएको छ।

उनका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारतीय सीमावर्ती क्षेत्रबाट लागूऔषध नेपाल भित्र्याएर काठमाडौंसहित विभिन्न जिल्लामा पुर्‍याउने संगठित सञ्जाल सक्रिय रहेकाले सीमा निगरानी, गोप्य सूचना परिचालन, संयुक्त अपरेशन र आकस्मिक चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ।

एसएसपी ढकालले लागूऔषधविरुद्ध ‘जिरो टोलरेन्स’ नीति अपनाइएको उल्लेख गर्दै तस्करीमा संलग्न गिरोह र तिनको सम्पूर्ण सञ्जाल पहिचान गरी कानुनी दायरामा ल्याउने अभियानलाई अझ सशक्त बनाइएको बताए।

२० दिनको बरामद तथ्यांक

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार असार १ देखि २० गतेसम्म सञ्चालन गरिएका अभियानमा ठूलो परिमाणमा लागूऔषध, सवारीसाधन तथा हतियार बरामद गरिएको छ।

सप्तरी : २७ केजी गाँजा, १३७.१४० ग्राम ब्राउन सुगर, २ सवारीसाधनसहित ३ जना पक्राउ।

सिरहा : ४१ केजी ७१५ ग्राम गाँजा, २४५.५२० ग्राम ब्राउन सुगर, ५ सवारीसाधन, १ थान कटुवा पेस्तोलसहित १५ जना पक्राउ।

धनुषा : एक किलो दस ग्राम गाँजा, १६.३१० ग्राम ब्राउन सुगर, नाइट्राजेपाम र स्पास्मो ट्याब्लेट, ४ सवारीसाधनसहित १० जना पक्राउ।

महोत्तरी : ५१ केजी २४० ग्राम गाँजा, विभिन्न प्रतिबन्धित औषधि, ४ सवारीसाधनसहित ९ जना पक्राउ।

सर्लाही : नाइट्राजेपाम र ट्राइप्रोलिडिन ट्याब्लेट, १ सवारीसाधनसहित ३ जना पक्राउ।

रौतहट : ८० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ।

बारा : २९ केजी ८८० ग्राम गाँजा, ९० मिलिग्राम ब्राउन सुगर, ३ सवारीसाधनसहित ५ जना पक्राउ।

पर्सा : ६ क्विन्टल ८५ केजी ५०० ग्राम गाँजा, ३५.१७० ग्राम ब्राउन सुगर, १ लाख २० हजार ६२० वटा ट्रामाडोल ट्याब्लेट, ४ सवारीसाधनसहित ११ जना पक्राउ।

संगठित अपराधविरुद्ध कडा रणनीति

असार महिनाको पहिलो २० दिनमै ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर तथा अन्य प्रतिबन्धित औषधि बरामद हुनु र दर्जनौँ व्यक्ति पक्राउ पर्नुले मधेसमा लागूऔषध कारोबार संगठित अपराधका रूपमा विस्तार हुँदै गएको देखिएको छ।  

त्यससँगै मधेस प्रदेश प्रहरीले परम्परागत शैलीभन्दा फरक आक्रामक र परिणाममुखी रणनीति अपनाउँदै सीमापार लागूऔषध तस्करी नियन्त्रण अभियानलाई अझ तीव्र बनाएको जनाएको छ।

प्रकाशित: २० असार २०८३ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App