सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित एक बोर्डिङ स्कुलको होस्टेलमा बस्ने नाबालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा प्रहरीले होस्टेल सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–५ बाबियाचौरस्थित ‘श्री सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुल’ को होस्टेल सञ्चालक ४० वर्षीय महेन्द्र अर्याल रहेका छन्।
अर्यालमाथि होस्टेलमै बस्ने १२ वर्षीया छात्रालाई ललाई–फकाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार घटना गत मंसिर ३ गते राति करिब ९ बजेको हो। कक्षा ५ मा अध्ययनरत ती बालिकामाथि सञ्चालक अर्यालले जबरजस्ती करणी गरेको सूचना बाहिरिएपछि इलाका प्रहरी कार्यालय बाबियाचौरले उनको खोजी तीव्र पारेको थियो।
घटनापछि फरार रहेका अर्याललाई प्रहरी नायब निरीक्षक भूपेन्द्र शाहीको कमान्डमा खटिएको ५ जनाको विशेष टोलीले पक्राउ गरेको हो। प्रहरीले उनलाई बाचकाँडा भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका अर्याललाई हाल इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ। उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ९ मंसिर २०८२ २१:३६ मंगलबार





-1200x560-600x400.jpg)