२० मंसिर २०८२ शनिबार
image/svg+xml
अपराध

मोरङको जंगलमा विभत्स हत्या : १३ वर्षीया बालिका मृत भेटिइन्

मोरङको उत्तरी क्षेत्रमा रहेको लेटाङको बेलबारी–चिसाङ साझेदारी वनभित्र एक जना बालिकाको जिउ र टाउको अलग भएको अवस्थामा शुक्रबार शव फेला परेको छ।  

लेटाङ नगरपालिका–२ स्कुल चोकका नविन गौतमकी कान्छी छोरी १३ वर्षीया अंशु गौतमको विभत्स अवस्थामा जंगलभित्र मृत भेटिएकी छन्। असोज २१ गते साँझ ५ बजेपछिदेखि बेपत्ता भएकी गौतम १८ दिनपछि मृत अवस्था भेटिएकी छन्। विभत्स अवस्थामा शव भेटिएको घटनापछि स्थानीय त्रसित एवं स्तब्ध बनेका छन्।  

लेटाङ र बेलबारीको सिमानामा पर्ने लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र गौतमको शव भेटिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए। उनका अनुसार अंशुको शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको छ।  

कुहिएको शवका कारण वरपर दुर्गन्ध फैलिएको बताउँदै, कटवालले भने, ‘घाँस काट्न गएका स्थानीयले शव देखेपछि दिउँसो डेढ बजेतिर प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थल पुग्यो। घटनाको थप अनुसन्धानका लागि म आफैं घटनास्थलमा पुगेको छु। बालिका हराएको सूचना आएसँगै प्रहरी र स्थानीय सबै मिलेर खोजी कार्य गरिरहेका थियौं। विभिन्न तवरबाट अनुसन्धान थालिसकेका छौं। पोस्टमार्टम रिपोर्ट र फरेन्सिक अध्ययनपछि घटनाको थप निष्कर्षमा पुगिने छ। यी बाहेक अन्य शंका लागेका कुराहरुको खोजी कार्य तीव्र बनाएका छौं।’

अभिभावक र साथीभाइ कसैलाई पनि केही नभनिकन उनी बेपत्ता भएकी थिइन्। अंशु बेपत्ता भएपछि अभिभावकले खोजीमा सहयोग गरिदिन प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतका सरोकारवालालाई आग्रह गरेका थिए। लामो समयदेखि खोजी जारी राखिएको भए पनि केही पत्ता लागेको थिएन। अन्तत: सडेर दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएकाहरुले शव फेला पारे।  

घटनास्थल वरिपरि अंशुले लगाएको लुगा फुकालिएको अवस्थामा भेटिएको थियो। कपडा शवको नजिकै फेला परेकाले बलात्कारपछि उनको हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।  

कटवालले भने, ‘घटना शंकास्पद छ। टाउको र शरीर अलग अवस्थामा छ। कुनै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ। जंगली जनावरले आक्रमण गर्दा ज्यान गएको पनि हुन सक्छ। विभिन्न कोणबाट अनुसन्धान भइरहेको र चाँडै वास्तविकता पत्ता लाग्ने छ। प्रारम्भिक अनुसन्धानबाट यौनजन्य अपराध हो कि जंगली जनावरले आक्रमण गरेको हो भनेर यकिन हुन सकेन।’

अंशुका अभिभावक अत्यन्तै सामान्य आर्थिक अवस्थाका छन्। अंशु सोही ठाउँको लक्ष्मी माध्यमिक विद्यालयको कक्षा–५ मा अध्ययनरत थिइन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बालिकाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।  

घटनापछि परिवार, आफन्त एवं गाउँमा शोक र आक्रोश फैलिएको छ। स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। स्थानीयका अनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि धारिलो हतियार प्रहार गरेर बालिकाको हत्या गरे जस्तो देखिन्छ।

प्रकाशित: ७ कार्तिक २०८२ २१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App