२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

कटुवा पेस्तोलसहित कञ्चनपुरबाट चार जना पक्राउ

कञ्चनपुर प्रहरीले १ थान कटुवा पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा साउन २५ गते दिउँसो करिब ४:०० बजे भीमदत्त नगरपालिका वडा नं. १८ स्थित सालघारी क्षेत्रमा जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका युवाहरूको मोबाइलमा कटुवा पेस्तोलको फोटो र भिडियो फेला परेको थियो।

त्यसपछिको थप अनुसन्धानका क्रममा भीमदत्त-१८ मामा भान्जा चोकस्थित उनीहरू बस्दै आएको डेरा कोठामा खानतलासी गर्दा लुकाएर राखिएको कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका-१ बस्ने २० वर्षीय पारस रोकाया, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-३ बस्ने १८ वर्षीय बिपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कञ्चनपुरकै कृष्णपुर नगरपालिका-६ बस्ने २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन्।

पक्राउ परेका चारै जनालाई प्रहरी नियन्त्रणमा राखी कानुन बमोजिम आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिएका छन्।

प्रकाशित: २६ श्रावण २०८३ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App