२० माघ २०८२ मंगलबार
image/svg+xml
अपराध

‘शाखा अधिकृत’ बनेर हिँड्ने नक्कली कर्मचारी पक्राउ

लोकसेवा आयोगको परीक्षा पास गर्नु र शाखा अधिकृत बन्नु धेरै नेपाली युवाको सपना हुन्छ।

तर, काठमाडौंमा एक २३ वर्षीय युवकले भने परीक्षा नै नदिई आफूलाई शाखा अधिकृत घोषणा गरे। उनी यतिमा मात्र रोकिएनन्, सरकारी पोसाक (ड्रेस) लगाएर नक्कली नियुक्ति पत्रसहित हिँड्न थालेपछि अन्ततः प्रहरी फन्दामा परेका छन्।

आफूलाई शाखा अधिकृत बताउने ललितपुर महानगरपालिका–१५ थसिखेल घर भई हाल काठमाडौंको झोछे बस्ने २३ वर्षीय समन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार श्रेष्ठले लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति भएको भन्दै नक्कली कागजात तयार पारेका थिए।

उनले सरकारी कर्मचारीले लगाउने आधिकारिक पोसाक नै लगाएर समाजमा आफू अधिकृत भएको भ्रम छरेका थिए। प्राप्त नै नगरेको उच्च ओहोदाको परिचय देखाएर मानिसहरूलाई प्रभावमा पार्ने र अनुचित फाइदा लिन खोजेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो।

प्रहरी टोलीले उनलाई सोमबार काठमाडौं महानगरपालिका–१२ टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

नक्कली अधिकृत बनेर हिँड्ने श्रेष्ठलाई सरकारी छाप तथा लिखत सम्बन्धी कसूर (कीर्ते) मा मुद्दा चलाइने भएको छ। थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन अपराध अनुसन्धान कार्यालयले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।

प्रकाशित: ९ पुस २०८२ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App