१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अपराध

जेनजी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११, थाकलटार निवासी ४५ वर्षीय आईतसिंह लामालाई आइतबार बिहान करिब ३:१५ बजे आफ्नै घरबाट पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

लामा एकसिंगे गैंडा मारेको वन्यजन्तु सम्बन्धी मुद्दामा दोषी ठहर भई १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय तोकिएका कैदी हुन्। उनी २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका थिए।

प्रहरीले लामाको खोजतलासका क्रममा आफ्नै घरबाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभूषण यादवले पक्राउ परेका लामासँग रहेको भरुवा बन्दुकसमेत बरामद गरिएको जानकारी दिएका छन्।

प्रकाशित: १७ श्रावण २०८३ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App