बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ।
साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब १०:३० देखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए।
साउन २ गते लजिनको परिवारले लजिन बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए।
गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीहरूको समेत सहयोगमा अनुसन्धान अघि बढाएको थियो।
साउन ९ गते बिहान ९:१५ बजेको समयमा बडिगाड गाउँपालिका –१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो। शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।
घटनामा संलग्न सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार आइफोनको विषयमा भएको विवादपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको खुलेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।
प्रकाशित: १० श्रावण २०८३ १३:४७ आइतबार



-600x400.jpg)

