मोरङको जहदामा दाजुभाइबीच बुधबार राति झगडा हुँदा दाजुले प्रहार गरेको हतियारबाट भाइको मृत्यु भएको छ ।
जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेका २८ वर्षीय श्रवणकुमार साहको बुधबार राति उपभारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।
उनका अनुसार दाजुभाइबीच विवाद हुँदा धारिलो हतियारबाट घाइते भएका श्रवणको राति नै उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बुधबार राति पौने ९ बजेतिर मृतक श्रवण र उनका दाजु नाताका सोही ठाउँका ३० वर्षीय राजकुमार साहबीच सामान्य विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
राजकुमारले काकाका छोरा भाइ श्रवणको बायाँ छातीमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको बताउँदै, प्रहरी निरीक्षक दाहालले भने, ‘राजकुमारले प्रहार गरेको हतियारबाट घाइते भएका श्रवणलाई तत्कालै उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल पुर्याए पनि उपचारकै क्रममा राति मृत्यु भयो । हातियार प्रहार गर्नुको कारण सामान्य विवाद भनिएको छ । तर, घटनाको थप अनुसन्धान थालिसकेका छौं ।’
श्रवणलाई हतियार प्रहार गरे लगत्तै राजकुमार भारततर्फ फरार भएका छन् । घटनास्थलबाट भारतीय सीमा करिब १ सय मिटर दूरी मात्रै रहेकाले उनी सहजै भाग्न सफल भएको प्रहरीले जनाएको छ । फरार भएका राजकुमारको भारतीय प्रहरीसँग समन्वयमा खोजतलास तीव्र पारिएको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक दाहालले बताए ।
मृतक श्रवणको पोस्टमार्टम गरेर शव परिवारको जिम्मा दिइ सकेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १८ मंसिर २०८२ १६:३६ बिहीबार





-1200x560-600x400.jpg)