२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

एनपिएलमा सट्टेबाजी: पक्राउ परेकाहरूको वालेटमा भेटियो २ करोड ५ लाखको कारोबार

<br>

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतका खेलहरूमा अवैध अनलाइन सट्टेबाजी (बेटिङ) गराएको आरोपमा पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले २ करोडभन्दा बढीको कारोबार भएको विवरण फेला पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका १० जनाको डिजिटल वालेटहरूमा कुल २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार (ट्रान्जेक्सन) भएको देखिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र वरपरका क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ९ जना भारतीय नागरिक र १ जना नेपाली महिला रहेका छन्।

एसपी भट्टराईले दिएका अनुसार पक्राउ परेकामध्ये दुई जनामाथि म्याच फिक्सिङको प्रयास गरेको आशंका छ भने बाँकी ८ जना सक्रिय रूपमा अनलाइन बेटिङमा संलग्न थिए।

उनीहरू अहिले प्रहरी हिरासतमा छन् र थप अनुसन्धान भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो गिरोहले ‘स्टेक डट कम’ र ‘बेटबुक डट कम’ जस्ता विदेशी वेबसाइट र एप्लिकेसनहरू प्रयोग गरेर सट्टेबाजी गराइरहेको खुलेको छ।

प्रहरीले एनपिएलका लागि यसपटक सुरक्षा व्यवस्था र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ।

मैदानमा ४० वटा सिसिटिभी क्यामेरा, ड्रोन मनिटरिङ, विस्फोटक पदार्थ चेकजाँच गर्ने कुकुर र १२ सय २३ जना सुरक्षाकर्मी परिचालन गरिएको एसपी भट्टराईले बताए।

प्रकाशित: ८ मंसिर २०८२ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App