बैंक ग्राहकको खातामा रहेको रकम आफ्नो खातामा ट्रान्सफर गरी लगेको आरोपमा कपिलवस्तुको तौलिहवास्थित एनआईएमबी बैंक शाखामा कार्यरत कर्मचारी रिसभ कार्की पक्राउ परेका छन्।
मोबाइल बैंकिङमार्फत ट्रान्सफर गर्दा अलर्ट समेत नहुने गरी तथा कनेक्ट आइपिएसको माध्यमबाट एक करोड ६५ लाख रुपैयाँ ट्रान्सफर गरी लगेको आरोपमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का २८ वर्षीय रिसभ कार्की पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले पकडीबाट नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक विवरणअनुसार उनले १६ जना ग्राहकको रकम आफ्नो खातामा सारेका थिए। दुई वर्षदेखि उनले सो कार्य गर्दै आएको प्रहरीसमक्ष बयान दिएको प्रहरी स्रोतले जनाएको छ। मेसेन्जरका रूपमा वर्षौँदेखि कार्यरत कार्कीले बैंकका अन्य कर्मचारीको विश्वास जित्दै आएका थिए।
त्यही बैंकमा कार्यरत दुई कर्मचारीको पासपोर्ट र आइडीको जानकारी पाएका उनले त्यसैको प्रयोग गरेर ग्राहकको रकम आफ्नो खातामा अनाधिकृत रूपमा सारेर हिनामिना गरेको आरोप छ।
घटनाबारे बैंकको केन्द्रीय कार्यालयले एउटै मोबाइल नम्बरमा १६ जनाको विवरण देखिएपछि शंका लागेर प्रहरीलाई जानकारी गराएको थियो। बैंक र प्रहरीले घटनाबारे अध्ययन-अनुसन्धान गरेपछि कार्कीले सो कार्यमा आफ्नो मात्र संलग्नता रहेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
घटनापछि बैंकको केन्द्रीय कार्यालयले दुई कर्मचारीलाई निलम्बन गरेको र बैंक शाखा प्रमुखसँग स्पष्टीकरण सोधेको छ। प्रहरीले मोबाइल बैंकिङमा प्रयोग हुने नम्बर तथा बैंक खाता यकिन गरी सचेत रहन आग्रह गरेको छ।
प्रकाशित: १७ चैत्र २०८२ ०८:२१ मंगलबार





