आइपिएलको चौथो खेल आज पञ्जाब किंग्स (पीबीकेएस) र गुजरात टाइटन्सबिच हुँदैछ। नयाँ चण्डीगढको महाराजा यादवेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियम (मुल्लानपुर) मा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
गुजरात टाइटन्सको यो पाँचौँ सिजन हो। टोलीले सन् २०२२ मा आफ्नो डेब्यु सिजनमै उपाधि जितेको थियो भने गत सिजन चौथो स्थानमा रहेको थियो। यता पञ्जाब किंग्स भने अझै पहिलो उपाधिको पर्खाइमा छ। आइपिएलमा यी दुई टोलीबिच अहिलेसम्म ६ खेल भएका छन्, जसमा दुवैले ३-३ खेल जितेका छन्। सन् २०२५ को आइपिएलमा पञ्जाबले गुजरातलाई ११ रनले पराजित गरेको थियो।
न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसनले पेटरनिटी लिभका कारण सुरुका केही खेल (पहिलो सात खेल) खेल्ने छैनन्। उनको स्थानमा टोलीले जेभियर बार्टलेट, बेन ड्वार्सुइस वा अज्मतुल्लाह ओमरजाई मध्ये एकलाई मैदान उतार्न सक्ने छ।
पञ्जाबको टोलीमा प्रियांश आर्या र प्रभसिमरन सिंहको ओपनिङ जोडीसँगै कप्तान श्रेयस ऐयर, नेहल वढेरा र शशांक सिंहले ब्याटिङ सम्हाल्नेछन्। यस्तै, मार्कस स्टोइनिस, मार्को जानसन र अज्मतुल्लाह ओमरजाई अलराउन्डरका रूपमा रहनेछन्। गुजरातले भने साई सुदर्शन र कप्तान शुभमन गिलबाट राम्रो प्रदर्शनको आशा राखेको छ। टोलीमा जोस बटलर, ग्लेन फिलिप्स, वाशिङटन सुन्दर र राशिद खान जस्ता अनुभवी खेलाडी रहेका छन्।
महाराजा यादवेन्द्र सिंह स्टेडियमको पिच सन्तुलित मानिन्छ। सुरुमा तीव्र गतिका बलरलाई केही राहत मिले पनि खेल अगाडि बढ्दै जाँदा पिच ब्याटिङका लागि सहज हुने देखिन्छ। यस मैदानमा अहिलेसम्म भएका ११ खेलमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ६ र पछि ब्याटिङ गर्नेले ५ खेल जितेका छन्। यहाँको उच्च स्कोर २२८ रन रहेको छ।
दुवै टोलीका सम्भावित प्लेइङ-११:
पञ्जाब किंग्स: प्रियांश आर्या, प्रभसिमरन सिंह (विकेटकिपर), श्रेयस ऐयर (कप्तान), नेहल वढेरा, मार्कस स्टोइनिस, शशांक सिंह, अज्मतुल्लाह ओमरजाई, मार्को जानसन, अर्शदीप सिंह, युजवेन्द्र चहल, जेभियर बार्टलेट/बेन ड्वार्सुइस
(इम्प्याक्ट प्लेयर: हर्प्रीत ब्रार वा युजवेन्द्र चहल)
गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वाशिङटन सुन्दर, ग्लेन फिलिप्स / शाहरुख खान, राहुल तेवतिया, राशिद खान, कागिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, जेसन होल्डर
(इम्प्याक्ट प्लेयर: साई किशोर वा शाहरुख खान)
प्रकाशित: १७ चैत्र २०८२ ०८:०७ मंगलबार





