१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

पाेखरामा ‘नेपाल स्रष्टा समाज’ लाई स्वागत

माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल, पोखराले ‘नेपाल स्रष्टा समाज’ का केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको स्वागत गरेकाे छ।

प्रतिष्ठानले सोमबार छन्दनिवास १७, बेलघारी, पोखरामा आयोजित एक कार्यक्रममा स्रष्टा स्वागत, संस्था मिलन अन्तरक्रिया र सिर्जना वाचन कार्यक्रम गरेको हो।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ‘रोदन‘ ले नेपाली साहित्यको वर्तमान अवस्थाबारे चर्चा गरे।

वर्तमान समयमा अरू क्षेत्रभन्दा पनि साहित्यिक क्षेत्रमा धेरै समस्या देखिएको भन्दै उनले साहित्यिक क्षेत्रमा छाएका विकृति र विसङ्गतिहरू औल्याए। उनले साहित्यिक पुरस्कार प्रदानमा आएका विकृति र समस्याहरूबारे प्रकाश पारे। कुनै समय योगदान गरेका चर्चित स्रष्टा र सर्जकहरूको सम्मान र योगदान जीवन्त राख्नका लागि केही गर्नुपर्नेमा रोदनले जोड दिए।

छन्दका अग्रज व्यक्तित्व माधव वियोगीले काव्य संस्कृतिको संरक्षणमा जोड दिंदै नेपाल स्रष्टा समाजसँगको सम्बन्ध आगामी दिनमा झाङ्गिने आशा व्यक्त गरे। साथै उनले व्यक्तिगत पहलमा गरेका कार्यहरूको चर्चा समेत गरे।

समाजका संरक्षक पवन आलोकले यस्ता कार्यक्रमले अझै बढी एकअर्कासँग घुलमिल हुने मौका मिल्ने भन्दै माधव वियोगीसँगको चिनापर्चीको सन्दर्भ समेत राखे।

समाजका महासचिव प्रकाश घायलले नेपाल स्रष्टा समाजको संक्षिप्त परिचय सहित गरेका गतिविधिहरूको जानकारी दिए।

प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष नवराज बराल, सचिव शिव त्रिपाठीले सञ्चालन गरेका थिए।

कार्यक्रममा विभिन्न स्रष्टाले आआफ्ना सिर्जनाहरु सुनाएका थिए। नेपाल स्रष्टा समाजको टोलीमा अध्यक्ष रोदन, संरक्षक पवन आलोक, महासचिव प्रकाश घायल, सदस्यहरू मधु पाठक, माधव विडारी, शंकर भारती, प्रदिप सापकोटा सम्मिलित छन्।

प्रकाशित: १७ चैत्र २०८२ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App