७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

आशिका तामाङलाई पाँच दिनको कैद सजाय

सामाजिक अभियान्ताका रुपमा सक्रिय आशिका तामाङलाई पाँच दिन कैद सजाय हुने भएको छ । आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अदालतले कैदको फैसला गरेको हो ।  

भक्तपुर जिल्ला अदालतले तामाङसहित दुई जनालाई पाँच दिनको कैद सजाय सुनाएको हो ।  

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।

तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको छ ।  

सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेकोलगायतका आरोप उनीहरूमाथि थियो ।  

त्यही विषयमा सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो।  

त्यस मुद्दामा आशिका तामाङ र शरण तिरूवालाई पाँच-पाँच दिन कैद सजाय सुनाएको हो।

त्यस्तै ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश भएको हो।

आशिका तामाङले साँगाको झोलुङ्गे पुलमा भएको घटनाबारे प्रहरी, सरकारी वकिल र अदालतमा समेत गल्ती महसुस गरेकी थिइन्।

प्रकाशित: १२ भाद्र २०८२ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App