२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अपराध

लोभ देखाएर किड्नी झिक्ने गिरोह सक्रिय, दुई जना पक्राउ, कसरी खटिन्छन् मान्छे ?

भारतीय प्रहरीको सहयोगमा अनुसन्धान हुँदै

नेपालमा संगठित गिरोह नै अवैध रुपमा मिर्गौला किनबेचमा सक्रिय हुन थालेको छ । यो समूहले नेपालका विभिन्न जिल्लामा विभिन्न प्रलोभन देखाइ, लगाइफकाइ किड्नी निकाल्ने गरेको पाइएको छ ।  

नेपालीलाई लोभ देखाएर दिल्ली पुर्‍याउने र त्यहाँका स्वास्थ्य संस्थामा मिर्गौला पत्यारोपण गर्ने क्रममा ती मिर्गौलाको प्रयोग हुने गरेको पाइएको हो ।  

यही कसुरमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूको वयानसँगै थप अनुसन्धानबाट यो कारोबारमा संलग्नको जालो पत्ता लगाउने रणनीतिका साथ काम गरिरहेको प्रहरीले जनाएको छ । 

यसरी प्रहरीले थाल्यो अनुसन्धान 

नेपालबाट मानव तस्करको संगठित समूहले भारतको नयाँ दिल्लीमा लगेर अबैध रुपमा मृगौला (किड्नी) झिकेर बेचबिखन भएको समाचार कै आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।  

पीडितको गुनासो सुन्दै प्रहरीले गत साउन १८ गतेदेखि अनुसन्धान थालेको जनाएको छ । यो आर्थिक वर्षमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ४ वटा मुद्दा दर्ता भएका थिए । जसमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिई ‘संगठित रुपमा कानून विपरित मानव अङ्ग मृगौला झिकी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसुर’मा अनुसन्धान भईरहेको छ । यो प्रकरणमा अहिलेसम्म पाँच जना  पीडितले जाहेरी दिएका छन् ।  

मानव वेचबिखन तथा अनुसन्धान ब्यूरोले अपरेसन लाइभ शिल्ड नाम दिएको अपरेसन अन्तर्गत काठमाडौं, नुवाकोट र काभ्रेपलाञ्चोकबाट मानव अंग मृगौला झिक्ने कार्यमा संलग्न भएका तीन जनामाथि अनुसन्धान गरेको थियो। सुराकी र जाहेरीवालाले दिएको आधारमा राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राजकुमार नेपालीलाई साउन २० गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले अवैध सञ्जाल नै खडा गरेका मुख्य नाईके श्याम कृष्ण भण्डारी रहेको फेला पारेको थियो ।  

भण्डारी समूहको सुक्ष्म अनुसन्धान गरिरहेको अवस्थामा भारतबाट नेपाल तर्फ आउँदै गरेको सूचनामका आधारमा कञ्चनपुरको गड्डा चौकी सीमानाका र उनका सहयोगी सुजन भारतीलाई पर्सा प्रहरीको सहयोमा वीरगञ्जको सीमा नाकाबाट पक्राउ गरिएको छ ।  

के खुल्यो अनुसन्धानले

प्रहरीको अनुसन्धान अनुसार गिरोहले मानिस परिचालन गरी मिर्गौलाको खोजी गर्ने पाइएको छ । जसमा विभिन्न १० काम हुने गरेको फेला परेको छ ।  

- नेपालका काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङ्गलगायत जिल्लामा मृगौला दिन तयार हुने सोझा तथा गरीब मानिसको खोजी गर्न लगाउने ।

-एउटा मृगौला दिँदैमा मानिस मर्दैन र स्वास्थ्यमा कुनै असर गर्दैन र ६ लाख पाउँछ भन्दै संगठित रुपमा टिम परिचालन गरी मानिसहरुलाई प्रलोभन दिन लगाउने र मृगौला दिने मानिस खोजेवापत प्रति व्यक्तिलाई ५० हजार दिने गरेको पाइएको छ ।

- मृगौला दिन तयार हुने मानिसलाई गाडीको ब्यवस्थापन गरी नेपालबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पुर्‍याउने र किड्नी दिए पश्चात नेपाल  ल्याउने कामको पनि ब्यवस्थापन गर्ने गरेको ।

- दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटेलमा लिएर राख्ने र खाने बस्ने सम्पुर्ण ब्यवस्थापन गर्ने गरेको ।  

- भारतको नयाँ दिल्ली स्थित बिभिन्न अस्पताल, क्लिनिकमा कार्यरत एजेण्ट, अस्पतालका कर्मचारी र डाक्टरहरुसँग समन्वयको मुख्य भूमीका निर्वाह गर्ने गरेको ।

- मृगौला दिन तयार भएका मानिसहरुलाई अलग अलग स्थानमा राखी होटेलमा बसेकै स्थानमा अस्पतालका कर्मचारी आएर ब्लड स्याम्पल लिने कामको व्यबस्थापन गर्ने गरेको ।

- मृगौला दिन तयार हुने मानिसहरुलाई होटेलबाट निकाली आँखामा पट्टी लगाई गाडीमा राखी अज्ञातस्थलमा लगी ईञ्जेक्सनबाट बेहोस बनाई मृगौला झिक्ने र ३/४ दिन अस्पतालको बसाई पश्चात पुनः गाडीमा राखी नेपाल फर्काउने गरेको ।

-मृगौला दिने मानिसले ६ लाख नेपाली प्राप्त गर्ने भनी प्रलोभन दिए तापनि श्याम कृष्ण भण्डारीको समूहले उक्त रकम समेत नदिएको भनि जाहेरवालाहरुले खुलाई दिएको ।  

-विगत ३ वर्षदेखि भारतीय आधारकार्ड समेत बनाई भारतको नयाँ दिल्ली स्थित लाजपत नगरमा बसोबास गर्दै आईरहेको ।  

-श्याम कृष्ण भण्डारीले प्रारम्भिक सोधपुछको क्रममा भारतको ग्रेटर नोयडा स्थित यथार्थ हस्पिटल र नाम थाहा नभएका विभिन्न क्लिनिकका कर्मचारी तथा एजेण्टसँग समन्वय गरी २५ जना ब्यक्तिको मृगौला झिक्न लगाई पैसा लिएको खुलासा गरेपनि प्रहरीलाई प्राप्त सूचना अनुसार एकसय भन्दा धेरै व्यक्तिहरुको अबैध मृगौला बेचबिखनमा संलग्न भएको पाइएको दावी प्रहरीको छ ।  

के हुन्छ सजाय

यस्तो अवैध काममा संलग्न हुने १० वर्षको कैदसम्म सजाय हुन्छ ।  

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को परिच्छेद-४ मा दण्ड सजाय तथा क्षतिपूर्ति सम्बन्धी ब्यवस्थाको छ । त्यस्तै दफा - १५को दण्ड सजायको उपदफा (ग) अनुसार प्रचलित कानून बमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई दश वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यबस्था छ ।

संगठित अपराध निवारण ऐन २०७० बमोजिम सम्बद्ध कसुरमा तोकिएको सजायमा डेढी बढाई सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।

प्रकाशित: १५ भाद्र २०८२ १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App