३ पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

झुम्का कारागारबाट भागेका ७०१ कैदीबन्दी अझै बेपत्ता

एक महिनाअघि जेन-जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ७०१ जना बाहिरै रहेका छन् ।  

कारागार प्रशासनले असोज २० गतेभित्र नफर्किए कानुन बमोजिम कारबाही गरिने सूचना जारी गरेतापनि अहिलेसम्म एक हजार ९२ जना मात्र फर्किएको जेलर सुभाष लामिछानेले बताए ।  

फर्किएकामध्ये तीन जना सिल्धुली कारागारमा छन् । उनका अनुसार कारागार बाहिरै रहेकामध्ये विदेशीमा भारत र भूटानका ५२ जना छन् । भारतका १० जना सम्पर्कमा आएता पनि अरु नआएका हुन् ।  

जेलर लामिछानेका अनुसार तोकिएको समयभित्र नफर्किने कैदीबन्दीलाई  कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

भदौं २४ गते राति कारागारबाट एक हजार ७९६ जना कैदीबन्दी बाहिरिएका थिए । कारागारबाट बाहिरिएका कैदीबन्दीमध्ये बराहक्षेत्र वडा नं. ७ का २८ वर्षे ईश्वर थापाले केही दिनअघि घाटी रेटेर आत्महत्याको प्रयास गरेका थिए । उनको अहिले उपचार भइरहेको जेल प्रशासनले जनाएको छ । थापा लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका छन् ।  

जेन-जी पुस्ताले थालेको आन्दोलनका क्रममा आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरु निस्किएको थियो । त्यसपछि क्रमश ब्लक ‘ए’ का पनि कैदीबन्दी निस्किएर हिँडेका थिए ।  

कैदीबन्दी बाहिरिन थालेपछि जेल प्रशासनले सेनालाई खबर गरेता पनि समयमै नपुगेकाले गर्दा प्रायः अधिकतर कैदीबन्दी बाहिरिएका थिए ।  झुम्का कारागारको ‘ए’ र  ‘बी’ कारागारबाट भागेर आएका र जेन जी आन्दोलनपछि विभिन्न मुद्दा फैसला भएर सजाय तोकेर थपिएकासहित एकहजार ९५ जना कैदीबन्दी छन् ।

प्रकाशित: २२ आश्विन २०८२ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App