खोला किनारमा भेटिएको बेवारिसे कारबाट उदयपुर प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ। बेलका नगरपालिका २ कोजगन्ना खोला किनारमा रोकेर राखिएको बेवारिसे कार चेकजाँच गर्दा कारभित्र र नजिकै ९ वटा बोरामा प्याक गरेको अवस्थामा गाँजा फेला परेको हो।
मङ्गलबार विशेष सूचनाका आधारमा बेलका नगरपालिका १ भागलपुर प्रहरी चौकी र चौदण्डीगढी नगरपालिका ४ स्थित प्रहरी चौकी बसाहाबाट गएको संयुक्त गस्ती टोलीले कार नियन्त्रणमा लिएको हो। खोला किनारमा रोकेर राखिएको बा२१ च१८११ नम्बरको कारमा २ बोरा र खोला किनारबाट ७ बोरा प्याक गरेको गाँजा बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कारमा र खोला किनारमा गरी २ सय ४० किलो बरामद भएको छ। गाँजासहित कार नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ। प्रहरीले सो कार गाँजा ओसारपसार कार्यमा प्रयोग गरिँदै आएको अनुमान गरेको छ। इप्रकाले घटनामा संलग्न व्यक्तिको खोजतलास तथा अनुसन्धान थालेको छ।
उता सुनसरीको बरगाछीस्थित अस्थायी प्रहरी चौकीले मङ्गलबार नै धरान उपमहानगरपालिका १७ का २२ वर्षीय मौसम राई र योगेन राईलाई प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ट्रामाडोल १ सय ७ क्याप्सुल र डिकोलिक १ सय ८ ट्याब्लेट बरामद भएको छ।
पक्राउ दुवैलाई इप्रका धरानको हिरासतमा राखेर अनुसन्धान सुरु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रकाशित: ३ भाद्र २०८२ १६:०३ मंगलबार





