६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अपराध

कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार

सांकेतिक तस्बिर

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् ।  

हालसम्म फरारमध्येमा नौ महिला र १५१ पुरुष रहेका कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार फरारमध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र दुई जना चिनियाँ छन् ।

आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट भागेका ७७३ जनामध्येमा कोही तोकिएको समयभित्रमा आफैँ फर्किएको र अन्यलाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको थियो । कास्कीबाट भागेका मध्येमा केही अन्य जिल्लामा समातिएका थिए ।  

त्यसैगरी, अन्य जिल्लाबाट भागेकाहरूलाई समेत यहाँ पक्राउ गरिएको थियो । कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीका रूपमा दलहरूले लिएका छन् । राजनीतिक दलहरूले कैदी र लुटिएका हतियारका कारणले निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशङ्का गरिरहेको अवस्थामा  प्रहरीले कैदीहरुको खोजी तीव्र बनाएको छ ।  

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीतिअनुसार काम भइरहेको जानकारी दिए । ‘निर्वाचन सुरक्षा योजनाअनुसार आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाइएको छ । यसका लागि प्रहरी टोली खटिएको छ । निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिने गरी जिल्लामा सुरक्षा कार्यान्वयन गरेका छौँ’, उनले भने।

प्रकाशित: २ माघ २०८२ १९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App