११ चैत्र २०८२ बुधबार
image/svg+xml
अपराध

बेनीबाट १७ किलो नक्कली महसहित एक भारतीय पक्राउ

म्याग्दीको सदरमुकाम बेनी बजारमा विभिन्न रसायन प्रयोग गरी नक्कली मह बनाएर बिक्री गर्ने एक भारतीय नागरिकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।

बेनी नगरपालिका-८, कालिपुलबाट स्थानीयको सहयोगमा पक्राउ परेका भारत, बिहार राज्यका ३५ वर्षीय रुपचंद धामीको साथबाट १७ किलोभन्दा बढी नक्कली मह बनाउने कच्चा पदार्थ र बिक्रीबाट संकलित एक लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी, प्रहरी निरीक्षक सागर पौडेलका अनुसार, धामीको साथबाट १७ केजी ५५ ग्राम कच्चा पदार्थ र नगद १ लाख ४ हजार रुपैयाँ बरामद गरिएको हो।

उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै अखाद्य वस्तु मिसाएर नक्कली मह उत्पादन र बिक्री गरेको भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो

पक्राउ परेका धामीलाई जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

प्रहरीका अनुसार, नेपालका सहरी क्षेत्रमा नक्कली मह बिक्री गर्ने भारतीय नागरिकहरूको गिरोह नै सक्रिय रहेको पाइएको छ।

यस्ता समूहले उपभोक्तालाई झुक्याउन मौरीको चाका साथमा राख्ने र चिनी, फिटकिरी, युरिया जस्ता स्वास्थ्यलाई हानि गर्ने अखाद्य वस्तु प्रयोग गरी नक्कली मह तयार पार्ने गर्दछन्।

उनीहरूले सक्कली महभन्दा आधा सस्तो मूल्यमा बेच्ने र रासायनिक पदार्थको प्रयोगले तत्कालै गुलियो स्वाद आउने हुँदा चाखेरै ग्राहकलाई विश्वास दिलाउने प्रयास गर्ने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: १६ असार २०८२ २०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App