१ श्रावण २०८२ बिहीबार
image/svg+xml
अपराध

सुनसरी र झापामा एकै दिन दुई हात्ती मारिए

बराहक्षेत्रमा मारिएको अवस्थामा भेटिएको जंगली हात्ती । तस्बिर : अमर खड्का\नागरिक

सुनसरी र झापामा एकै दिन दुई हात्ती मारिएको अवस्थामा भेटिएका छन् ।  

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं २ को कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा झण्डै सात वर्ष उमेरको भाले हात्ती मारिएको अवस्थामा भेटिएको जिल्ला वन कार्यालयले जनायो । हात्तीलाई करेन्ट लगाएर मारिएको जिल्ला वन कार्यालय सुनसरीका प्रमुख खुद्रुस मियाँले बताए । ‘हात्ती चाँही राति नै मारिएजस्तो छ । हामीलाई खबर आज बिहान मात्र आएको हो,’ उनले भने, ‘अहिलेको प्रारम्भिक अनुसन्धानमा करेन्ट लगाएरै मारेको निष्कर्ष  छ । अरु कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्छ ।’

कोशी टप्पु वन्य जन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र यादवले हात्तीलाई करेन्ट लगाएरै मारेको भन्ने सूचना प्राप्त भएको बताए ।  

झापाको मेचीनगर वडा नं. १ गणेश टोलस्थित रहेको मकैबारीमा पनि अर्को जंगली हात्ती मारिएको अवस्थामा फेला परेको छ । पोथी हात्ती मारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले नागरिकलाई बताए ।

कोशी प्रदेशका विभिन्न स्थानमा हात्ती मार्ने क्रम बढेसँगै २०८० पुस दोस्रो साता मोरङको सुन्दरहरैंचा वडा नं. १० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मारिएको अवस्थामा भेटिएको थियो । गोली हानेरै मारेको अवस्थामा जंगली हात्ती भेटिएको थियो ।  

एकपछि अर्को घटनामा हात्ती मार्ने क्रम बढीरहँदा केही वर्षअघि सप्तरीमा झन्डै २२ वर्षको जवान भाले दाह्रे हात्ती स्थानीय गाउँलेले बाली जोगाउन लगाएको बिजुलीको करेन्ट लागेर मृत्यु भएको थियो । त्यसअघि बिजुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा अर्को जंगली हातीको मृत्यु भएको थियो ।

नेपालमा कुल २२७ वटा हात्ती रहेका छन् । यस्तै, ६० वटा हात्ती विचरणका लागि भारतबाट झापा क्षेत्रमा आउने गरेका छन् । खास गरेर बेलाबखत हात्ती र मानवबिचको द्वन्द्वले हात्ती मारिने गरेका छन् । तर, कतिपय स्थानमा भने मानिसले नियतवस हात्ती मार्ने गरेको हात्तीको विषयमा विद्यावारिधी गरेका डाक्टर अशोक रामले बताए । बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत उनले आफ्नो बाटोमा हिडीरहेका बेला मानिसले नियतवस हात्ती मार्ने क्रम पछिल्लो समय बढेको बताए ।  

पछिल्लो तीन वर्षयता मात्र कोशी प्रदेशसहित देशभर १५ वटा हात्ती मरेका छन् । यही ढंगले हात्ती मारिने क्रम बढ्दा दुःखद स्थिती सिर्जना हुने बताए । अब दिनदिनै हात्ती जोगाउने कार्य चुनौतीपूर्ण भएकाले गर्दा सरकारले सचेतनाका कार्यक्रम सञ्चालन गर्र्नुपर्नेमा डाक्टर रामले बताए ।  

प्रकाशित: २ असार २०८२ १८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App