११ श्रावण २०८३ सोमबार
image/svg+xml
विचार

प्रदूषणले मस्तिष्कमा पनि खतरा

वायु प्रदूषण आज विश्वभरि नै एक जटिल वातावरणीय र जनस्वास्थ्य समस्याको रूपमा देखापरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बाहिरी वायु प्रदूषणले वार्षिक ४२ लाख र घरायसी वायु प्रदूषणले ३८ लाख मानिसहरूको ज्यान लिन्छ। यसले वायु प्रदूषणलाई विश्वव्यापी मृत्युको प्रमुख वातावरणीय कारक बनाएको छ। यसको असर श्वासप्रश्वास, हृदय रोग र क्यान्सरजस्ता गम्भीर स्वास्थ्य समस्यासँग जोडिएको छ। बालबालिका, ज्येष्ठ नागरिक र पहिले नै बिरामी भएकाहरू यसको उच्च जोखिममा छन्।

विकसित राष्ट्रहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगले गर्दा ऐतिहासिक रूपमा विश्वव्यापी वायु प्रदूषणमा  ठुलो योगदान पुर्‍याएका छन्। वर्तमान समयमा चीन र भारतजस्ता ठुला र विकासशील देशहरू पनि ऊर्जाको उच्च माग र औद्योगिकीकरणका कारण प्रमुख प्रदूषक बनेका छन्। यी देशको ऊर्जा खपतको प्रत्यक्ष र अप्रत्यक्ष असर नेपालजस्ता साना राष्ट्रमा पनि परिरहेको छ।

नेपाल सानो र कम औद्योगिकीकरण भएको राष्ट्र भए तापनि गम्भीर वायु प्रदूषण संकटको सामना गरिरहेको छ, विशेष गरी काठमाडौं उपत्यका र अन्य सहरी क्षेत्रमा। विश्वव्यापी उत्सर्जनमा नेपालको ऐतिहासिक योगदान नगण्य भए पनि स्थानीय प्रदूषणका स्रोतहरू र क्षेत्रीय कारकहरूले यहाँ गम्भीर स्वास्थ्य जोखिम सिर्जना गरिरहेका छन्।

नेपालमा वायु प्रदूषणका कारण

सवारी साधन उत्सर्जन: काठमाडौं, पोखरा, भरतपुर, बिराटनगरजस्ता सहरमा तीव्र सहरीकरण र सवारी साधनको बढ्दो स्वामित्वले सवारी साधनको उत्सर्जन बढाएको छ, जुन कण पदार्थ, नाइट्रोजन अक्साइड र कार्बन मोनोअक्साइडजस्ता प्रदूषकहरूको प्रमुख स्रोत हो। कमजोर सवारी साधन मर्मत र इन्धनको गुणस्तरले समस्यालाई थप जटिल बनाएको छ।

काठमाडौं महानगरपालिकाले सडकमा गुडिरहेका पाँच सय ९९ सवारी साधन परीक्षण गर्दा तीन सय ४५ वटाको धुवाँ उत्सर्जन मापदण्ड विपरीत पाइएको छ।

निर्माण र सडकबाट उत्पन्न धुलो: अनियन्त्रित  सडक निर्माण कार्य जुन समय सीमामा सकिँदैनन् र जीर्ण सडकहरूले विशेष गरी सुक्खा मौसममा अत्यधिक धुलो प्रदूषण उत्पन्न मुग्लिङ–पोखरा  र  नारायणगढ–बुटवल  खण्डको  सडक  निर्माणले  धुलो  धुँवा  र  सास्तीको  साक्षी  बसेको  धेरै  वर्ष  भइसक्यो।

अर्कातिर समय सीमा नाघे पनि म्याद थपिरहने प्रवृत्ति र ठुला ठेकेदारहरूको घरमा देशका ठुला नेताहरू बस्ने यथार्थले सडक निर्माणमा हुने ढिलासुस्ती र भ्रष्टाचारको एउटा तितो सत्यलाई उजागर गरिरहेको छ।

औद्योगिक उत्सर्जन: इँटा भट्टा र सहरी क्षेत्र वरपर सञ्चालित अन्य उद्योगहरूले धुवाँ, कण पदार्थ र अन्य हानिकारक ग्यासहरू वायुमण्डलमा छोड्छन्। उचित  मापदण्ड  र  अनुगमनको  कमीले  औद्योगिक  उत्सर्जन  देशका सबै कल कारखाना वरिपरि डरलाग्दो पाइन्छ। तथापि यसलाई नियमन गर्ने आवश्यक कार्यवाही गर्ने काम भने गरिएको देखिँदैन।

फोहोर जलाउने:  खुला क्षेत्रमा फोहोर जलाउने प्रचलनले वायु प्रदूषणमा ठुलो योगदान पुर्‍याउँछ, जसले विषालु धुवाँ र कण पदार्थहरू निस्कासन गर्छ। खेतीपातीको सिजनमा  देशभित्रको मात्र नभएर दिल्लीसम्मको त्यस्तो धुवाँ र  धुलोको  सिकार हरेक वर्ष नेपालले भोग्नुपर्छ।

वन डढेलो: विशेष गरी सुक्खा पूर्व–मनसुन मौसममा हुने वन डढेलो नेपालमा वायु प्रदूषणको प्रमुख कारण बनेको छ। जग्गा सफा गर्ने उद्देश्यले वा दुर्घटनावश सुरु भएका यी डढेलोहरूले ठुलो मात्रामा धुवाँ र कण पदार्थहरू वायुमण्डलमा छोड्छन्, जसले देशभरको वायु गुणस्तरलाई गम्भीर रूपमा घटाउँछ। अप्रिल २०२५ को हालैको तथ्यांकले देखाउँछ कि जनवरीदेखि देशभर १८०० भन्दा बढी वन डढेलोका घटनाहरू रिपोर्ट भएका छन्, जसमध्ये धेरैजसो पछिल्लो महिनामा भएका छन्।

सीमापार प्रदूषण: नेपालको वायु गुणस्तर विशेष गरी जाडो महिनाहरूमा भारत–गंगाको मैदानबाट हुने सीमापार प्रदूषणबाट पनि उल्लेखनीय रूपमा प्रभावित हुन्छ। छिमेकी देशहरू भारत र पाकिस्तानमा बाली अवशेष जलाउने र हावाको बहावले प्रदूषकहरू नेपालमा ल्याउँछ, जसले वायु गुणस्तरलाई थप खराब बनाउँछ।

काठमाडौंको वायु गुणस्तर प्रायः अस्वस्थ र खतरनाक स्तरमा पुग्छ, जसले गर्दा यो विश्वकै प्रदूषित सहरहरूमध्ये गनिन्छ। दिल्ली र चीनका नजिकका क्षेत्रहरूसँग तुलना गर्दा काठमाडौंको अवस्था झनै चिन्ताजनक देखिन्छ। सवारी साधनको चाप, उद्योगधन्दा र कृषिजन्य अवशेष जलाउनेजस्ता कारणले दिल्लीमा पनि प्रदूषणको समस्या छ तर वन डढेलोको समयमा काठमाडौंको वायु गुणस्तर दिल्लीलाई पनि उछिन्न सक्छ।

मे २०२४ को सुरुमा काठमाडौंको वायु गुणस्तर सूचकांक १७७ पुगेको थियो, जसले यसलाई दिल्लीपछि विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनाएको थियो। फेब्रुअरी २०२५ मा काठमाडौं संक्षिप्त रूपमा १७५ सहित विश्वको सबैभन्दा प्रदूषित सहर बनेको थियो। नोभेम्बर २०२४ मा केही सुधार भए पनि काठमाडौं १६५ सहित आठौं सबैभन्दा प्रदूषित सहरको रूपमा रह्यो जबकि दिल्लीको एक्युआई ४७९ थियो।

हिमालय पारिस्थितिक प्रणालीमा असर

कालो कार्बन जम्मा:  जीवाश्म इन्धन, बायोमास र वन डढेलो जलाउँदा निस्कने कालिख र कालो कार्बन कणहरू हिमालयसहित उच्च–बतिष्तगमभ क्षेत्रहरूमा पुग्छन्। यी गाढा कणहरूले हिउँ र बरफभन्दा बढी सौर्य विकिरण सोस्छन्, जसले गर्दा हिमनदी र हिउँ पग्लने गति बढ्छ। यो तीव्र पग्लनेले तल्लो तटीय क्षेत्रहरूमा पानीको अभाव र हिमताल विस्फोटको जोखिम बढाउँछ।

दृश्यतामा कमी:  वायु प्रदूषणले हिमालय क्षेत्रमा दृश्यता घटाउँछ, जसले नेपालको आयको महत्त्वपूर्ण स्रोत पर्यटनलाई असर गर्छ। धमिलो अवस्थाले हिमालको मनोरम दृश्यलाई अस्पष्ट बनाउँछ।

जैविक विविधतामा असर: वायु प्रदूषकहरूले हिमालय क्षेत्रमा वनस्पति र वन्यजन्तुलाई प्रत्यक्ष रूपमा हानि पुर्‍याउन सक्छन्, पारिस्थितिक प्रणालीलाई बाधा पुर्‍याउन सक्छन् र सम्भावित रूपमा जैविक विविधताको क्षति हुन सक्छ।

जलवायु परिवर्तनको विस्तार: प्रदूषकहरू, विशेष गरी कालो कार्बनले क्षेत्रीय तापक्रम बढाउन योगदान पुर्‍याउँछ, जसले हिमालयमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई बढाउँछ, तिनीहरूलाई बढ्दो तापक्रमको प्रभावप्रति बढी संवेदनशील बनाउँछ।

ट्राफिकको आवाजले मस्तिष्कको स्वास्थ्यमा दोहोरो असर

यसैबिच स्विडेनको करोलिंस्का इन्स्टिच्युटको वातावरणीय चिकित्सा संस्थानका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनले वायु प्रदूषण र ट्राफिकको आवाजले मस्तिष्कको स्वास्थ्यमा दोहोरो असर पार्ने र स्ट्रोकको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य पत्ता लगाएको छ। ‘एनवायरनमेन्ट इन्टरनेसनल’ जर्नलमा प्रकाशित यस अनुसन्धानले युरोपेली संघ र विश्व स्वास्थ्य संगठनद्वारा निर्धारण गरिएको मापदण्डभित्र वायु र ध्वनि प्रदूषण रहे पनि तिनीहरूको संयुक्त असर खतरनाक हुन सक्ने निष्कर्ष निकालेको छ।

स्विडेन, डेनमार्क र फिनल्यान्डका एक लाख ३६ हजार ८९७ वयस्कको विवरण विश्लेषण गर्दा वायुमण्डलमा सूक्ष्म प्रदूषण कणहरूको स्तर प्रतिघन मिटर पाँच माइक्रोग्रामले बढ्दा स्ट्रोकको जोखिम ९ प्रतिशतले बढ्छ।

त्यस्तै, ट्राफिकको आवाज ११ डेसिबलले बढेमा यो जोखिम ६ प्रतिशतले बढ्छ। यी दुवै कारक एकैपटक सँगै उपस्थित भएमा स्ट्रोकको जोखिम अझ धेरै बढ्न सक्छ।

हाम्रो देशको अर्थतन्त्र पनि पेट्रोलियम पदार्थको अत्यधिक आयातका कारण कमजोर बन्दै गएको छ। आर्थिक वर्ष २०६५/६६ मा दुई खर्ब १९ अर्ब रुपैयाँ रहेको व्यापार घाटा २०७५/७६ सम्म आइपुग्दा करिब ६ गुणाले बढेर १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा मात्र यो घाटा एक खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २४.९४ प्रतिशतले बढी हो।

काठमाडौं उपत्यकामा हुने प्रदूषणमध्ये ३८ प्रतिशत सवारी साधनहरूबाट हुन्छ। नेपाल सरकारले सन् २०३० सम्ममा ९० प्रतिशत सवारी साधन बिजुलीबाट चलाउने प्रतिबद्धता संयुक्त राष्ट्र संघलाई बुझाएको छ। यो सकारात्मक कदम हो।

बढ्दो सवारी साधन

१२ वर्षमा सवारी संख्या ६ लाखबाट ३० लाख नाघेको छ। वार्षिक वृद्धि दर तीव्र छ, विशेषगरी २०१५/१६ पछि यो वृद्धि उत्कर्षमा पुगेको छ। अर्कातिर यो वृद्धि ऊर्जा खपत, प्रदूषण र यातायात पूर्वाधारसँग प्रत्यक्ष सम्बन्धित छ। विद्युतीय सवारी प्रणालीमा रूपान्तरण नगरेसम्म पेट्रोलियम आयात र वातावरणीय संकट बढ्दै जान्छ।

रक्सौलदेखि काठमाडौंसम्मको अन्तरदेशीय रेलमार्गको डिटेल्ड प्रोजेक्ट रिपोर्ट अन्तिम चरणमा पुगेको समाचार नेपालका लागि उत्साहजनक छ। तीन घण्टामा काठमाडौं–रक्सौल यात्रा सम्भव हुने, १३ स्टेसन, ४२ किमी सुरुङ र १२४ पुलसहितको यो परियोजना नेपालका लागि भौतिक पूर्वाधार विकासको महत्त्वपूर्ण कदम हो तर यससँगै ब्रोडगेज रेल प्रणाली:  पुरानो प्रविधि, नयाँ युगका लागि अपर्याप्त तथा ब्रोडगेज प्रणालीका सीमितता सम्बन्धमा केही रणनीतिक प्रश्नहरू पनि उठ्छन्।

नेपालले अब २१औं शताब्दीको रेल प्रणाली रोज्नुपर्ने बेला आएको छ किनकि रेल पूर्वाधार एकपटक बनिसकेपछि १०० वर्षसम्म चल्छ। पुरानो प्रविधिमा लगानी गर्नु दीर्घकालीन रूपमा घाटा हुन सक्छ।

बढ्दो वायु प्रदूषण र ट्राफिकको कोलाहलमा अभिशप्त नेपालका सहरमा यसको कस्तो असर पर्ला? जनस्वास्थ्यसँग जोडिएका यस्ता पेचिला सवालमा गर्नुपर्ने अनुसन्धानतर्फ कसैको ध्यान जाला र? करोलिंस्का इन्स्टिच्युटको पछिल्लो अध्ययनले देखाएझैं वायु प्रदूषण र ट्राफिकको आवाजको संयुक्त प्रभावले स्ट्रोकको जोखिम बढाउन सक्छ। काठमाडौंजस्तो उच्च वायु प्रदूषण र ट्राफिक चाप भएको सहरमा यसको असर कति गम्भीर होला ? यसबारे विस्तृत अध्ययन आवश्यक छ।

प्रकाशित: ११ श्रावण २०८३ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %