काठमाडौंको टोखामा ७ राउन्ड गोली चलाएर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले दुई जना कारोबारी पक्राउ गरेको छ। घटना मंगलबार दिउँसो ३ बजेको हो।
पक्राउ पर्ने दुवै जना भारतीय नागरिक रहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए। पक्राउ पर्नेमा ४० वर्षीय सशिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम छन्।
‘टोखा नगरपालिका वडा नं–३ मा लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा हाम्रो टोली त्यहाँ पुगेको थियो। त्यहाँ भेटिएका दुबैजनालाई नियन्त्रणमा लिने प्रयास हुँदा निजहरूले फलाम रडले प्रहरीमाथि आक्रमण गरेका रहेछन्,’ एसपी शाहीले भने, ‘त्यसपछि प्रहरीले गोली चलाउनु परेको हो।’ उनीहरूको आक्रमणबाट प्रहरी वरिष्ठ हबल्दार नवराज घिसिङ र प्रहरी सहायक हबल्दार रवीन्द्र केसी घाइते भएको पनि एसपी शाहीले जानकारी दिए।
‘हातले छेक्न खोज्दा प्रहरी हबल्दारद्वयको हातमा चोट लागेको छ। पक्राउ परेका कारोबारीको घुँडाभन्दा मुनी गोली लागेको अवस्था छ,’ एसपी शाहीले भने। घाइतेहरू सबैको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको उनले बताए।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन ७ राउन्ड गोली चलाउनु परेको जनाएको छ। ‘एक जनाको एक राउन्ड र अर्कोको दुई राउन्ड घुँडा मुनी गोली लागेको छ,’ एसपी शाहीले भने,‘उनीहरूबाट दुई सय ग्राम खैरो हिरोइन पनि बरामद भएको छ।’
प्रकाशित: २७ जेष्ठ २०८२ १६:२१ मंगलबार