७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

अन्तर्मनको यात्रा

समाज

मानिसको जीवन सधैं बाहिरतिर मात्रै बग्दैन, समयक्रमले बिस्तारै मानिसलाई आफैंतिर फर्काउन थाल्छ। त्यसपछि त बाहिरी संसारभन्दा भित्रको संसार हेरेर त्यसैमा हराउन मन लाग्छ। यसै सन्दर्भमा नेपालका एक प्रसिद्ध कवि वैरागी काइँलाको ‘मानिस धेरै टाढा पुगेपछि फेरि आफ्नै मनतिर फर्कन्छ’ भन्ने भनाइ पनि निकै स्मरणीय लाग्छ।

मेरा बुबाको जीवनलाई विगततिर फर्केर हेर्दा यो कुरा झनै स्पष्ट हुन्छ। साँच्चै भन्दा युवावस्थामा उहाँका अनगिन्ती साथी थिए। सम्बन्ध र मित्रताको गहिरो समुन्द्रमा डुबुल्की मार्दै जीवनलाई लयबद्ध किसिमले अगाडि बढाइरहनुभएको थियो। गाउँ बजारका चोक, मेलापर्वका भिड, जमघट र हाँसोले भरिएका रङ्गीन साँझ जहींतहीं भेटिनु हुने उहाँ सामाजिक जीवनको उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो।

यस्तै लोभलाग्दो सामाजिक जीवनको केन्द्रमा बाँचूँबाँचूँ लाग्ने स्वाभाविक जीवन उहाँले बाँचिरहनुभएको थियो तर समय सधैं एउटै लय र गतिमा बग्दो रहेनछ। उमेरसँगै उहाँको जीवनको गति र स्वभाव पनि बदलिँदै जान थाल्यो। बिस्तारै आफ्नै खेतबारी, परिवारको न्यानो माया र केही निकटतम साथीहरूको सानो घेरामा खुम्चिँदै जान थाल्नुभयो। कहिलेकाहीं त ती केही साथी आउँथे, हल्का गफ र तासका सामान्य खेल हुन्थे र उहाँले साँझलाई सामान्य र शान्त रूपमा बिदाइ गर्नुहुन्थ्यो। वास्तवमा हरेक बुबाआमाका स्वभाव र सम्बन्धका कथा प्रायः यस्तै हुने गर्छन्।

त्यसबेला मलाई लाग्थ्यो, बुबा पछि हट्दै हुनुहुन्छ, सामाजिक र सांसारिक जीवनबाट टाढिँदै हुनुहुन्छ तर अहिले समयको अर्को डिलबाट उभिएर हेर्दा यो धारणा आफैंलाई गलत हो भन्ने लाग्छ।

बुबाको त्यो समय शान्त पोखरीमा फालिएको ढुङ्गाजस्तै लाग्छ भने बुबाको पछिल्लो स्वभाव र प्रवृत्ति पोखरीमा तरङ्गित छालजस्तै लाग्छ। जो आफ्नै लय र गतिमा पोखरीका अन्तिम किनारासम्म आइपुगेको हुन्छ। अहिले आएर हेर्दा उहाँको संसार सानो हुँदै गएको थिएन, बरु अझै गहिरो, सफा र स्पष्ट हुँदै गइरहेको थियो। बाहिरबाट हेर्दा जुन कुरा साँघुरोजस्तो लाग्थ्यो, त्यो वास्तवमा जीवनको वास्तविक अर्थ स्पष्ट झल्कने गहिराइतर्फको यात्रा थियो। 

जीवनको यही मोड र अवस्थाबारे विचारक जेम्स होलिसले आफ्नो पुस्तक ‘फाइन्डिङ मिनिङ इन द सेकेन्ड हाफ अफ लाइफ’ मा सुन्दर ढङ्गले चर्चा गरेका छन्। उनका अनुसार मानिसको जीवनको पहिलो आधा भाग प्रायः समाजका अपेक्षा सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै अगाडि बढेको हुन्छ। यही समयमा हामीले आफ्नो पहिचान र व्यक्तित्व निर्माण गर्छौं, पेसामा आबद्ध हुन्छौं, सम्बन्धहरू गाँस्छौं अनि आफू चिनिने र चिनाउने आधार निर्माण गरेका हुन्छौं। जीवनको दोस्रो आधा भाग भने आफैंभित्र घोत्लिन र हराउन थालेका हुन्छौं।

यतिबेला मनभित्र अनेकन् नयाँ प्रश्नहरू जन्मिन थाल्छन्। कहिले आशा, निराशा त कहिले पीडा र आन्तरिक छटपटीबिच यस्ता प्रश्नहरूले हाम्रो चेतनामा चुपचाप डेरा बनाएर बस्न थाल्छन्। त्यतिबेला हामी, म कसरी सफल बन्ने भन्ने होइन, बरु जीवनले मबाट के चाहन्छ? पद, प्रतिष्ठा र भूमिकाभन्दा बाहिर वास्तवमा म को हुँ? म यहाँ हुनुको अर्थ के हो? आदि जस्ता गम्भीर र दार्शनिक प्रश्नहरू सोध्न थाल्छौं।

यस्ता प्रश्नले व्यक्तिका स्वभाव र प्रवृत्तिमा आएको परिवर्तनलाई देखाउँछन्। यी कुराले मान्छेका बाहिरी प्राप्ति र उपलब्धिबाट भित्री मूल्यतर्फको यात्रालाई बुझाउँछन्। समाजले दिने पद, प्रतिष्ठा, सम्पत्ति र उपाधिहरू यी सबै क्षणिक र अस्थायी चिनारी हुन्। मान्छे जब भित्रतिर फर्कन्छ, उसले प्राप्त गरेका अस्थायी पहिचानभन्दा पर आफ्नै अन्तर्आत्माले पुष्टि गर्न सक्ने गहिरो अर्थको खोजी गर्न थाल्छ। यसबेला उसले आफ्नो आत्मालाई ढाँट्न सक्दैन।  

होलिसले जस्तै जोन क्यालिनवानले पनि यो सङ्क्रमणको अवस्था, सम्पत्ति, व्यावसायिक पद, प्रतिष्ठाजस्ता अस्थायी पहिचानसँग हामी यसरी ठोक्किएका हुन्छौं र यी सबै कुरा गलत हुन् भनेर पनि सोच्छौं तैपनि हामीमध्ये धेरैजसोले यस किसिमको मनोवैज्ञानिक सङ्क्रमणबारे कहिल्यै ध्यान दिएका हुँदैनौं।

वास्तवमा यही समयमा नै जीवनले हामीलाई नयाँ तरिकाले अघि बढ्न आमन्त्रित गरिरहेको हुन्छ भन्ने कहिल्यै सोचेका हुँदैनौं। विडम्बना पनि यस्तै छ कि यस्ता मनोवैज्ञानिक परिवर्तनका लागि समाजले मान्यता प्रदान गर्न कुनै औपचारिक सङ्केत दिएको पाइँदैन। त्यसैले धेरैजसो मानिसहरू यो परिवर्तनको यात्रामा एक्लै हिँडिरहेका हुन्छन्। यस्तो बेला कहिलेकाहीं उनीहरूलाई सायद म नै गलत हुँ वा मैले नै केही बिगार गरेको हुँ कि भन्ने लागेको हुन्छ। वास्तविकतामा भने जीवन आफैंले हामीलाई नयाँ ढङ्गले परिपक्व हुन आमन्त्रण गरिरहेको हुन्छ।  

यो परिवर्तन कुनै निकटतम मित्रहरूमा पनि स्पष्ट देख्न र महसुस गर्न सकिन्छ। समयसँगै धेरै मानिसहरूले आफ्नो मित्रमण्डली सानो हुँदै गएको अनुभव गरेका हुन्छन्। सधैं झगडा परेर वा कुनै निराशाका कारण मात्रै यस्तो भएको होइन। वर्षौंसम्म एकअर्कालाई साथ दिएका साथीहरूबिच जीवनका अनुभवसँगै सोचमा पनि भिन्नता ल्याउन थाल्छ र क्रमशः उनीहरूका मूल्य, प्रवृत्ति र रुचिहरू बिस्तारै फरक किसिमले विकास भइरहेका हुन्छन्। मानव विकास र परिपक्वता सधैं एउटै गति र एउटै दिशाबाट नहुने भएकाले पहिले सहज रूपमा बग्ने कुराकानीहरू पनि पछि असमानजस्ता लाग्न थाल्छन्। पहिले दुवैलाई उत्साहित बनाउने विषयहरूले पछि गएर बेग्लै अर्थ दिन थाल्छन् अनि मित्रता र सम्बन्धको स्वरूप फेरिन थाल्छ। यी सबै कुराबाट केही सम्बन्ध र मित्रता समयसँगै कमजोर बन्दै जान्छन् भने केही सीमित सम्बन्ध र मित्रता अझ गहिरिँदै जान्छन् भन्ने कुरा स्वीकार गर्न सकिन्छ।

यी सबै कुराले जस्टिन ब्राउनको एउटा लेखको सम्झना गराउँछ। एउटा सन्दर्भमा ब्राउनले एक महिलासँगको संवाद उल्लेख गरेका छन्। केवल औपचारिक मित्रताको अभिनय मात्र गरिरहने तर वास्तविक कठिन क्षणहरूमा फोन गर्ने मानिसहरूको सूचीमा कहिल्यै नपर्ने मान्छेहरूको भिडमा धेरै समय र साँझहरू बिताएकी ती महिला अहिले त्यस्ता उद्योगसम्बन्धी कार्यक्रमहरूमा जान छाडेकी थिइन्। यही घटनालाई ब्राउनले किन धेरै मानिस उमेरसँगै आफ्नो मित्रमण्डली अत्यन्तै सानो बनाउन रुचाउँछन् भन्ने कुरासँग जोडेर पुष्टि गर्न खोजेका छन्। ती महिला त्यस्ता जमघटहरूमा जाने दिन उनलाई पूरै दिन काम गरेभन्दा बढी थकान हुने गर्थ्याे। उनको यो अवस्था देख्दा मलाई बारम्बार बुबाको सम्झना आइरहन्छ र उहाँको पछिल्लो दैनिकी किन र कसरी साँघुरो बन्दै गइरहेको हो भन्ने कुरा सम्झन्छु। सायद यो जीवन र सम्बन्धहरूबाट पछि हट्नु वा भाग्नु होइन, बरु जीवनबारे स्पष्ट र गहिरो अर्थबोध प्राप्त गर्नु हो साथै आध्यात्मिकता वा वैराग्यको मार्गतर्फ लाग्नु हो भन्ने निष्कर्षमा पुग्छु। सायद भित्री मनले समयलाई फरक किसिमले हेर्न थालेको महसुस हुन्छ।

आजको आधुनिक जीवनशैली र सामाजिक वातावरणले यो प्रक्रियालाई झन् जटिल बनाइदिएको छ। बिस्तार हुँदै गएका सामाजिक सञ्जालका विविध रूपहरूले निरन्तर जटिलतामाथि जटिलता थपिरहेका छन्। हामीले गर्ने सबै किसिमका गतिविधिहरू खानपान, यात्रा, भेटघाट, उत्सव र रमाइला नरमाइला क्षणहरूको अभिलेखसमेत सामाजिक सञ्जालमा राखेका हुन्छौं। कहिलेकाहीं त कतिपय क्षणहरू आफूले पूर्ण रूपमा अनुभव गर्न पाएका हुदैनौं, तुरुन्तै मोबाइलको लेन्सबाट फोटो खिच्छौं, अपलोड गर्छौं र रिल बनाउँछौं। कताकता हाम्रो जीवन, जीवन नै होइन, डिजिटल फोटो एल्बम हो भन्ने लाग्छ। यद्यपि खुसीका क्षणहरू साझा गर्नु गल्ती नहोला तर कतिपय कुराहरू साझा गर्नु भनेको देखावटी प्रदर्शन गर्नु हो जस्तो लाग्छ। हामी हाम्रो जीवन जिउनुभन्दा बढी प्रदर्शन र प्रस्तुतिमा हराउँछौं। हामी संसारलाई आफ्नो उत्सव, यात्रा, भेटघाट सबै देखाउँछौं, सबैलाई देखाउँछौं।

वास्तवमा यी सबै कुरा हेर्ने दर्शकहरू प्रायः हाम्रो वास्तविक जीवनसँग केवल कमजोर सम्बन्ध राख्ने मानिसहरू नै बढी हुने गर्छन्। यस अर्थमा आज विकसित सामाजिक सञ्जालहरूले बढी खुल्न र प्रदर्शन गर्न चाहने जीवनको पहिलो आधा भागमा हुने मानसिकतालाई नै बलियो बनाउने काम गर्छ। पहिचान, उपलब्धि र सम्बन्ध निरन्तर देखाइरहने चाहना जीवनको त्यही पहिलो आधा भागमा बढी हुने गर्छ तर विडम्बना के हो भने हामी जति धेरै आफ्नो जीवन र जीवनसम्बद्ध गतिविधिहरू प्रसारण र प्रदर्शन गर्छौं, त्यति नै कम गहिराइमा वास्तविक जीवन बाँचिरहेका हुन्छौं। हामीहरू रिल जीवनमा जिउन थालेपछि रियल जीवन भने बिस्तारै पृष्ठभूमिमा हराउन थाल्छ।

जीवनको दोस्रो आधा भागमा आउने भित्री सोच र मोडले भने यस किसिमको बानी व्यवहारलाई चुनौती दिन्छ र हामीलाई एउटा प्रश्न सोच्न बाध्य पार्छ। ती थोरै मानिस को हुन्, जसका अगाडि मलाई कुनै अभिनय गर्न र रिल जीवन देखाउन आवश्यक पर्दैन? वास्तवमा यिनै सीमित र आफैंलाई भित्रैबाट हेर्ने सम्बन्धहरू हुन्, जो डिजिटल प्रदर्शनभन्दा निकै पर टिकिरहेका हुन्छन्, बाँचिरहेको हुन्छ। यस्ता सम्बन्धलाई वास्तविक रूपले महसुस गराउन कुनै तस्बिर, पोस्ट र प्रमाणको प्रदर्शन गरिरहन आवश्यक पर्दैन।

मनोविज्ञानका क्षेत्रमा प्रचलित धेरै सिद्धान्तहरूले पनि यो मान्यतालाई समर्थन गर्छ। मनोविद् लौरा कास्र्टेन्सनले प्रतिपादन गरेको सामाजिक भावनात्मक चयन सिद्धान्तले पनि सीमिततामा नै जीवनको अर्थको महसुस गर्न सकिन्छ, बाहिरी नयाँ अवसरहरूभन्दा भावनात्मक रूपमा अर्थपूर्ण लक्ष्य र सम्बन्ध विकास गर्न सकिन्छ भनेका छन्।

त्यसैले आज मानिसहरू सम्बन्धलाई विस्तार गर्न खोज्नुको सट्टा आफूलाई सीमित सम्बन्धमा गहिरो लगानी गर्न चाहन्छन्। यही एकप्रकारको सचेत छनोटका कारणले गर्दा सामाजिक घेरा सानो हुँदै जानुलाई अस्वाभाविक मान्न सकिँदैन।

यसै सन्दर्भमा ‘क्याच मि इफ यु क्यान’मा रहेको सामान्यजस्तै लाग्ने तर गम्भीर भाव भएको चलचित्र कथा स्मरणीय छ। यस कथामा दुईवटा मुसा क्रिमले भरिएको बाल्टिनमा खस्छन्। एउटा डराउँछ र डुबेर मर्छ, अर्को भने बाल्टीको क्रिम मखनमा परिणत नभएसम्म सङ्घर्ष गरिरहन्छ र त्यही मखनका सहाराले बाहिर निस्कन सफल हुन्छ। धेरै वर्षसम्म यो कथालाई अस्तित्वका लागि गरिएको दृढता र सङ्घर्षको प्रेरणाको रूपमा हेरियो तर यो कथा अस्तित्वका लागि गरिएको सङ्घर्ष मात्र होइन, निराशा, प्रेम, कर्तव्य र परिवर्तनलाई मथेर जीवनमा उभिन सक्ने अर्थपूर्ण आधार र अनुभवलाई रूपान्तरण गर्ने प्रक्रियाका रूपमा बुझ्न थालिएको छ।

यसरी विकास र सम्बन्धको अर्थ केवल नयाँ उपलब्धि थप्नु वा पहिचान विस्तार गर्नु मात्र होइन, जीवनले हामीलाई अहिलेसम्म दिएका अनुभवहरूलाई सम्झनु, बुझ्नु र ती अनुभवलाई आफ्नै वास्तविक पहिचानमा समाहित गर्नु पनि हो। व्यक्तिगत अधिकार प्राप्तिले पनि यस किसिमको पहिचान र परिवर्तनलाई सहज बनाउन सहयोग गरेको हुन्छ। जेम्स होलिसले पनि अरूको स्वीकृतिको अपेक्षामा होइन, आफ्नै विश्वास र मूल्यका आधारमा जीवन जिउन सिक्नु नै विकास र परिवर्तन मानेका छन्।

हामीमध्ये धेरैले जीवनको पहिलो आधा भाग अरूका नजरमा राम्रो र असल देखिन अधिकतम प्रयास गर्दै बिताएका हुन्छौं। यसै क्रममा कुनै क्षण यस्तो आउँछ, जुन क्षणमा हामीले आफ्नो व्यक्तित्व र जीवन त निर्माण ग¥यौं तर यसलाई पूर्ण रूपमा आफैंले जिउन भने सकेका रहेनछौं भन्ने कुराको प्रत्यक्ष महसुस हुन थालेको हुन्छ।  

जब हामीले कसैको बाध्यता वा डरबिना हो अथवा होइन भन्न सक्छौं, त्यसबेला मात्र व्यक्तिगत अधिकारको पुनः प्राप्ति भएको मान्न सकिन्छ। यस्तो अवस्थाको परिवर्तनलाई छनोटको सम्बन्ध भन्न सकिन्छ। जस्टिन ब्राउनले उल्लेख गरेजस्तै सतही सम्बन्धहरू निर्माण गर्दा पनि देखिने नदेखिने लगानी रहेको हुन्छ।

आफ्नो वास्तविक पहिचान नझल्कने र अरूलाई देखाउनकै लागि गरिने यस्ता देखावटी र सतही सम्बन्धहरू जोगाइराख्न विभिन्न भूमिका निभाइराख्नुपर्ने हुन्छ र यस्तो भावनात्मक श्रमले हामी थकित पनि भएका हुन्छौं। त्यसैले कहिलेकाहीं सीमित किसिमको सामाजिक घेरा हुनु पनि अझ राम्रो हुने गर्छ र यो नै सच्चा र इमानदार सामाजिक जीवनतर्फको बाटो हुने गर्छ।

जीवनको सच्चा अर्थबोध गरी आफैंतिर फर्कने यो यात्राले अनुभवमा आधारित आध्यात्मिक जीवन बनाउन विशेष सहयोग गर्छ। सदियौंदेखि समाजमा चलिआएका परम्परा र संस्कारभित्र धेरै मानिस धार्मिक अभ्यासमा लागि परेका देखिन्छन् तर जीवनलाई वास्तविक अर्थका दृष्टिकोणबाट गहिरो रूपमा कहिल्यै विचार गरेका हुँदैनन्। कतिपयले त सबै कुरालाई पूर्ण रूपमा अस्वीकार गरेर उल्टो प्रतिक्रिया देखाउन पुगेका हुन्छन्।

खासमा जीवनको गहिरो र वास्तविक परिपक्वता अति देखावटी र अति धार्मिक अभ्यासबाट प्राप्त गर्न सकिँदैन। अन्ध स्वीकृति र छिटै अस्वीकार गर्नु घातक कुरा हो। आध्यात्मिक अभ्यास र अर्थलाई जीवनका वास्तविक अनुभवबाट जाँचेर मात्र पुष्टि गर्न सकेमा मात्र सही निष्कर्षमा पुग्न सकिन्छ।

यसर्थ जीवनको दोस्रो आधा भागले हामीलाई अर्थपूर्ण सङ्घर्षतर्फ आमन्त्रित गरेको हुन्छ। जीवनका प्रारम्भिक वर्षहरूले हामीलाई सामाजिक उपलब्धिहरू प्राप्त गर्न सङ्घर्ष गर्न सिकाएका हुन्छन् भने पछिल्ला वर्षहरूमा सीमित सम्बन्धबिच जीवनले सङ्घर्षलाई रूपान्तरण गर्न हामीलाई अर्को पाठ सिकाएको हुन्छ।

आज बुबालाई फर्केर हेर्दा उहाँ समाजबाट टाढिएको व्यक्तिका रूपमा होइन, बरु असीमित सम्बन्धहरूमा चलायमान रहनुलाई जीवनको सही अर्थ सम्झने भुल गर्न छोड्नु भएको व्यक्तिका रूपमा उहाँ देखिनुहुन्छ। यस अर्थमा उहाँको जीवन साँघुरो र सानो भएको थिएन, बरु अझ स्पष्ट र प्रभावकारी भएको थियो। उहाँ साच्चै नै गम्भीर र वास्तविक अर्थ राख्ने आफ्नो परिवार, पेसा, आफ्नो जायजेथा र जग्गाजमिन तथा केही सच्चा मित्रतासँग मात्र सम्बन्धित हुनुहुन्थ्यो। उहाँका लागि यही र यति नै पर्याप्त थियो।

आज हामी धेरैजसोलाई आफ्नै गाउँघर र खेतबारीमा फर्कने अवसर जुट्न नसक्ला, हामीमध्ये धेरैजना काठमाडौंजस्ता भिडभाडले भरिएका व्यस्त सहरहरूमा कठोरतम सङ्घर्ष गर्दै काम गरिरहेका छौं, सन्तान हुर्काउने र पढाउने काम गरिरहेका छौं, ऋण तिरिरहेका छौं र सामाजिक व्यक्तित्वको खोजी गर्दै जीवनधारा अगाडि बढाइरहेका छौं तर जीवनको दोस्रो आधा भागले अनिवार्य रूपमा भूगोल नै परिवर्तन गर्नुपर्ने माग गर्दैन बरु हाम्रो सम्बन्ध र ध्यानलाई आफैंभित्र मोड्ने परिवर्तन चाहेको र खोजेको छ।

साँच्चै अब हामीमा यही परिवर्तनको आवश्यकता रहेको देखिन्छ। त्यसपछि त सामाजिक घेरा सानो हुँदै र जीवनको अर्थ अझ गहिरो हुँदै जानेछ। त्यतिबेला जीवन अरूलाई देखाउनका लागि प्रस्तुत गरिने अभिनय नभई सच्चाइ र इमानदारिताबिच खुसीसाथ जिउने आधार बन्नेछ।

त्यसैले जीवनको साँचो अर्थ र परिपक्वता बाहिरी सम्बन्ध विस्तारले बन्ने होइन, अर्थपूर्ण सम्बन्धहरूलाई चिनेर तिनैमा टिक्न सक्नु हो। समयसँगै जीवनको घेरा सानो हुन्छ तर जीवनको अर्थ र गहिराइ झन विशाल हुँदै जाने भएकाले हामी सबैले आफैंभित्रको सत्यलाई पहिचान गर्दै जानुपर्छ।  

प्रकाशित: ७ चैत्र २०८२ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App